आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

 

राष्ट्रियता झल्कने लोगोसहित विश्व बजारमा नेपाली अर्थोडक्स चिया कम्पनीले पठाउन पाउने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२ वटा चिया कम्पनीलाई ‘ट्रेडमार्क’ उपलब्ध गराएसँगै नेपाली अर्थोडक्ड चिया अब आफ्नै लोगोसहित विश्व बजारमा निर्यात हुनेछ ।
‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ले तय गरेको मापदण्ड पुरा गरेका १२ वटा कम्पनीले ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयन’ नामक ‘ट्रेडमार्क’ पाएका हुन् । ट्रेडमार्क पाएसँगै चिया उद्योगीहरू हर्षित भएका छन् ।
चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पुरा गरेका चिया कम्पनीलाई मङ्गलवार चिया तथा कफी विकास बोर्ड र सूर्योदय नगरपालिका इलामको आयोजनामा भएको कार्यक्रममा कृषि मन्त्री घनश्याम भुसालले ट्रेडमार्क प्रमाण पत्र उपलब्ध गराएका छन् ।
 ट्रेडमार्क पाउने इलामका चिया कम्पनीहरूमा सन्दक्फु टी प्रोसेसर्स, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स, जसवीरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रिन टी एन्ड स्पेसियालीटि, ओएसिस टी इन्डस्ट्रिज, तारा गाउँ टी स्टेट, साखेजुङ हिल रेन्ज चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था रहेका छन् । यसै गरी तेह्रथुमका बोक्रे डाँडा अर्ग्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था र सङ्खुवासभाको सगरमाथा टी स्टेटले ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेका छन् । बाँकी कम्पनीहरूलाई मापदण्ड पुरा गरेपछि ट्रेडमार्क प्रदान गरिने चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
कार्यक्रममा मन्त्री भुसालले भुसालले नेपाली चियाले विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्नका लागि ट्रेडमार्क सहायक सिद्ध हुने जनाए । भुसालले चिया तथा कफी विकास बोर्डलाई प्राप्त लोगो कार्यान्वयन गर्न निर्देशन दिए । त्यसका लागि कृषि मन्त्रालयले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालका अन्य कृषि उपजलाई पनि ट्रेडमार्क प्रदान गरेर विश्व बजारमा पु¥याउन सरकार प्रतिबद्ध रहेको भुसालले बताए ।
यस अघि बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री र चिया बगानको अनुगमन गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरिएको मार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईँले बताए ।
“अहिलेसम्म विश्व बजारमा आ–आफ्नो उद्योगको नाममा चिया निर्यात हुँदै आएको थियो” हिमालयन टी प्रोडियुसर्स कोओपरेटिभ्स लि.का अध्यक्षसमेत रहेका चापागाईँ भन्छन्, “लोगो प्राप्त गरेसँगै व्यवसायीले सोझै पठाउने गरेको चियालाई राष्ट्रियता झल्कने लोगोसहित पठाउन पाउने भएका छन् ।”
व्यवसायीले लोगो प्रयोग गर्नुअघि उत्पादन गरेको हरियो पत्ती र तयारी चियाको परिमाण बोर्डलाई देखाउनुपर्ने निर्देशिकामा उल्लेख छ । वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय रहेको चापागाईँले जनाए । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर निर्यात हुँदा नेपाली चिया साथै नेपालीको पहिचान विश्व बजारमा स्थापित हुने व्यवसायीको भनाई छ ।
लोगो प्राप्त गरेका उद्योगका चिया उत्पादन, प्रशोधन र प्याकेजिङको विषयमा  निरन्तर अनुगमन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । लोगो कार्यान्वयनपछि अनुगमन समितिले किसानको चियाबारी, चिया टिपाइको अवस्थाबारे निरीक्षण समेत गर्ने अधिकारी बताउँछन् । निर्देशिकामा उल्लेख भएका आचारसंहिता उल्लङ्घन गरेमा उद्योग तथा व्यवसायीले पाएको लोगो खोस्नसमेत सकिने कार्यविधि रहेको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्छ उक्त रकम चियाको बजारीकरणका लागि खर्च गरिने प्रावधान छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा बोर्ड र मन्त्रालयले दर्ता प्रक्रिया सुरु गरेको अधिकारीले बताए ।
अहिले विश्वका १३ वटा मुलुकमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । थोरै मात्रामा चिया निर्यात हुँदै आएको उक्त मुलुकमा लोगो प्रदानपछि निर्यातको मात्रा बढाउन सकिने चिया व्यवसायी बताउँछन् । विशेष गरी जापान, अमेरिका, जर्मन, फ्रान्स, बेलायत, चिन लगायत देशमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । नेपालमा वार्षिक ६० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने तथ्याङ्क छ । अर्थोडक्स चियाको १० प्रतिशत खपत नेपालमा हुन्छ भने ८० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत १४ जिल्लामा आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया