आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021
   युवाहरूलाई बिदेसिनु भन्दा व्यवसाय तर्फ अग्रसर हुन विशाल फाउन्डेसनको सहकार्यमा सचेतना कार्यक्रम बाग्मती प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ । त्यस क्रममा भक्तपुरमा रहेको समृद्धि कलेजको सह–आयोजनामा बाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रुपमा स्टार्टअप आइडिया कलका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बाग्मती प्रदेशका युवाहरूको स्टार्टअप व्यवसायीक आइडिया संकलन मङ्सिर २४ गतेबाट सुरु भएको जनाएको छ । यस अभियानमा सरल वित्तीय कर्जा प्रवाहमा राष्ट्रिय वाणिज्य बैंकले प्रत्यक्ष सहकार्य गरेको छ । स्टार्टअप आइडियामा छनौटमा परेका युवाहरूलाई निःशुल्क सीप मूलक तालीमको समेत व्यवस्था गरिएको जनाइएको छ ।
उक्त कार्यक्रम सहभागी भएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले समेत युवालाई व्यवसाय तर्फ आकर्षित हुन आग्रह गरेका थिए । आयोगले समृद्ध नेपाल निमार्णका लागि युवालाई  उद्यमशील तर्फ लैजान पहिलो प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् । साथै सीप मूलक तालिमबाट युवाहरूको सपना पुरा हुने भएकोले चुनौतीसँग नडराउन हौसला दिएका छन् । सोही कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरूलाई संरक्षण र प्रोत्साहनकै लागि पूर्ण प्याकेजकोरुपमा यो आइडिया कल कार्यक्रम सञ्चालन गरिएकोले यस अभियानमा आइडिया पठाइ उद्यमी  बन्न आग्रह गरेका छन् ।
                   काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालनमा लाग्न खोजिरहेका र विभिन्न कलेजका व्यवस्थापन र सूचना प्रविधि संकायमा पढ्दै गरेका करिब १५० जना युवाहरूलाई वर्ल्ड लिंकका अध्यक्ष एवं युवा उद्यमी दिलीप अग्रवाल, ई कमर्स सस्तो डिलका संस्थापक अमन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, वरिष्ठ महिला उद्यमी स्याम बदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, समृद्धि कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठ लगायतले कार्यक्रम अवधि भर यस अभियानको उद्देश्य र प्रतिफलका बारेमा प्रस्ट पारेका थिए ।
       हालसम्म ४ सय युवाहरूले स्टार्टअप आइडिया कल (www.startupideaclla.org) मा प्रस्ताव पठाएको जानकारी गराउदैं  कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्त सम्म आइडिया पठाउने युवाहरूलाई निःशुल्क तालीम र सहुलियत पूर्ण कर्जाका लागि आयोजकहरूबाट  सहजीकरण गरिने बताएका छन् । युवा उद्यमी प्रवर्द्धन कार्यक्रम अन्तर्गत बाग्मती प्रदेश भित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरू लक्षित आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया