आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
   कोभिड १९ महामारीले पारेको असर पछि लिनु पर्ने रणनीतिका सम्बन्धमा अन्तर्राष्ट्रिय वेबिनार यही मिति २०७७ साल फागुन १३ र १४ गते डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल र एओटिस नेपालको संयुक्त आयोजनामा “द ग्लोबल इम्प्याक्ट्स उफ् कोभिड १९ एन्ड इट्स कन्सीकोइन्सेस टु द फाइनान्सियल सेक्टर ः द नेपलिज प्रसपेक्टिभ्स” नामक २ दिने वेबिनार सम्पन्न भएको संघले जनाएको छ ।
उक्त वेबिनारमा नेपालका तर्फबाट प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट रहेका थिए । कार्यक्रमका प्रमुख वक्ता, इस्लामिक बैंक बंगलादेश लि. का कार्यकारी समितिका अध्यक्ष, बंगलादेश आवास निर्माण वित्त निगमका अध्यक्ष, आइक्यावका परिषद् सदस्य तथा चित्तागोङ् युनिभर्सिटीका प्राध्यापक डा. मोहम्मद सलिम उद्दिन रहेको बताइएको छ ।
     कोभिड १९ का कारण विकास बैंकिङ व्यवसायमा देखिएका असर मध्ये निष्क्रिय कर्जामा वृद्धि सहित  कर्जा लगानीमा ग्राहक तानातानबाट उत्पन्न अस्वस्थ प्रतिस्पर्धा प्रमुख चर्चाको विषय बनेको थियो ।   आयात वृद्धिसँगै तरलता संकुचन हुने सम्भावनाबाट विकास बैंकहरुको वर्षों देखिको प्रयास पछि स–साना ग्राहकहरू उद्योगीमा रूपान्तरण हुन सफल भएका छन् । वाणिज्य बैंकहरुले समेत ऋणको व्याज दर घटाउँदै ती विशिष्ट प्रकारका साना तथा मझौला उद्योगीलाई तानी दिए पछि विकास बैंक समूह थप समस्यामा पर्न थालेका छन् । अर्कोतर्फ निष्क्रिय कर्जा वृद्धिले नाफामा देखिने प्रत्यक्ष असरले पुँजी पर्याप्तमा समेत असर देखिएको छ । अन्तर्राष्ट्रिय स्तरका बैंकहरुले यस प्रकारका चुनौती समायोजनमा लिएका रणनीतिका बारेमा अनुभव साटासाट गर्ने उद्देश्यले उक्त वेबिनारको आयोजना गरिएको डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए ।
     नेपाल राष्ट्र बैंकले ल्याएको व्यवहारिक मौद्रिक नीतिका कारण अहिले ऋणीहरू, बैंक तथा वित्तीय संस्था तथा वित्तीय प्रणालीलाई  परेको सकारात्मक प्रभावले कोभिडको असर कम हुँदै जाने संकेत देखिएको छ । तर प्रवक्ता डा. गुणाकर भट्टले कोभिड १९ पछिको असर न्यूनीकरणका लागि रणनीतिक योजना बनाई अगाडि बढ्नु पर्ने कुरालाई जोड दिएका छन् ।
   नेपाल एओटिएसका अध्यक्ष प्रशान्त लाल श्रेष्ठले कोभिड १९ ले वित्तीय प्रणालीमा परेको असर र त्यस पछि तयार पारिनु पर्ने रणनीतिका लागि अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरी अन्तर्राष्ट्रिय वक्ता झिकाउने कार्यमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताएका थिए । उनले डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालसँग पहिलो पटक सहकार्य भएता पनि आगामी दिनमा विकास बैंकका कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय संघ संस्थाबाट व्यवहारिक र व्यवसायीक ज्ञान उपल्वध गराउने कार्यमा थप पहल गर्ने बताए ।
  गरिमा विकास बैंकका प्रशासन विभागका प्रमुख दयाराज अर्यालले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथ्यांकलाई मिहिन तरिकाले अध्ययन गरी कोभिड १९ ले बैंक तथा वित्तीय संस्थालाई पारेको असर कम गर्न अत्यन्तै व्यवहारिक र समय सान्दर्भिक वित्तीय उपकरणहरू प्रयोगमा ल्याउनु पर्ने मुख्य वक्ता प्रा. डा. उद्दिनले सुझाएका थिए ।

तपाईको प्रतिक्रिया