आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
चैत महिनाको तेस्रो साता सेयर बजारमा सुधार देखिएको छ । यस अघि सेयर कारोबार मापक नेप्से परिसूचक घटेर निराश बनेका लगानीकर्ताहरूका लागि तेस्रो साता भने सुखद रहेको छ । अझ सेयर बजार पुँजीकरणले नयाँ रेकर्ड कायम गर्दे कुल रकम ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।  यो नेपाली सेयर बजारको हाल सम्मकै ठुलो पुँजीकरण हो । सातामा चार दिन भएको कारोबारमा तीन दिन लगातार बजार बढेर बन्द भए पनि एक दिन भने घट्यो ।
 साताको पहिलो दिन सार्वजनिक बिदा भएका कारण कारोबार हुन पाएन् । त्यसपछिका तीन दिन बजार बढ्ने क्रम जारी रह्यो । समग्र सेयर कारोबार मापक नेप्से परिसूचक ८२ दशमलव ९३ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । अघिल्लो साता नेप्से परिसूचक २ हजार ५ सय ४८ दशमलव ९६ अंकमा रोकिएको थियो ।
  बजार पुँजीकरणले ऐतिहासिक रेकर्ड राख्दा समेत कारोबार रकम भने घटेको छ । चैत महिनाको दोस्रो साताको तुलनामा तेस्रो साता ५ अर्ब ५७ करोड ४४ लाख ६० हजार रुपैयाँले कारोबार रकम घटेको हो । गत साता २९ अर्ब ५८ करोड ८२ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो । तर यो साता भने २४ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँमै कारोबार रकम सीमित भयो । बजार घट्नुमा कारोबार दिन भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । अघिल्लो साता सातामा पाँचै दिन कारोबार भएको थियो । तर यो साताको पहिलो दिन नै होली परेकाले सातामा चार दिन मात्रै कारोबार हुन पायो । जसको असर सेयर कारोबार रकममा देखिएको हो ।
कारोबार रकम सँगै सातामा किनबेच भएको सेयर कित्ताको संख्या समेत घटेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार यो साता करिब १ करोड ६१ लाख कित्ता सेयर कम किनबेच भएको छ । अघिल्लो साता ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता सेयर किनबेच भएको थियो । यो साता भने मात्र ४ करोड ७० लाख २१ हजार ७४ कित्ता मात्रै सेयर किनबेच भएको छ ।
   नेप्से परिसूचक उकालो लाग्दा सेयर लगानीकर्ताहरूको पुँजीमा उच्च वृद्धि भई  यो सातामा पुँजी एक खर्ब १५ अर्ब रुपैयाँ भन्दाले थप वृद्धि हुन पुगेको छ । गत साता सेयर बजारको पुँजीकरण ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख रुपैयाँ पुँजीकरण थियो । एक साताको अवधिमा १ खर्ब १५ अर्ब २५ करोड ८३ लाख रुपैयाँले बढेर ३६ खर्ब ३५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया