आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोभिड–१९ का कारण आर्थिक संकटको जोखिम बढ्न सक्ने बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् । कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको भन्दै उनले मुलुक भित्र उत्पन्न हुन सक्ने मानवीय तथा आर्थिक संकटको संयमता पूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गए पनि कोभिड–१९ को जोखिम भने कायमै रहेको बताए । पछिल्लो समय देखिएको कोरोना त्रासका कारण अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ने खतरा रहेको र अर्थतन्त्रलाई  लयमा अघि बढाउन राष्ट्र बैंकले भूमिका खेल्ने बताए । कोरोना विरुद्धको खोप आइसकेपछि निकै आशा पलाए पनि पुनः जोखिम बढेको उनको भनाई छ
बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य समेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य तर्फ फर्कन सुरु भइसकेको थियो । तर, पछिल्लो समयमा कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमा समेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनले बताएका छन्

तपाईको प्रतिक्रिया