शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेपालको निर्यात व्यापारमा ७.९६ प्रतिशतले वृद्धि भई कुल १ खर्बको आँकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात  एक खर्बको आँकडा भन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको  छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को १० महिना (साउन–वैशाख)को अवधिमा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार भएको छ । वैशाख महिनासम्म आइपुग्दा निर्यातको वृद्धि ३२.१९ प्रतिशत देखिएको छ ।
गत आर्थिक वर्ष २०७६÷७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको थियो । यो वर्ष निषेधाज्ञाका बिचमा समेत खासगरी वैशाख महिनामा नेपालबाट वस्तु निर्यातमा उल्लेख्य प्रगति देखिएको छ । यो वर्ष वस्तु निर्यातमा भटमासको  तेलसहित तेलजन्य वस्तुको मुख्य भूमिका छ । कफी चिया र कार्पेटमा समेत उल्लेख्य वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात समेत बढेको छ ।
सरकारले २०६४ सालमा सार्वजनिक गरेको तिन वषिर्य अन्तरिम योजनाको १ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको थियो । यो लक्ष्यलाई सरकारले हरेक पटक दोहोयाए पनि सफल हुन सकेको थिएन । उक्त वर्ष ६१ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको थियो ।
आ.व २०६७÷६८ मा आएको त्रिवर्षीय योजनामा समेत १ खर्ब निर्यातको लक्ष्य कायम राखिएको थियो । नेपालले गत आव २०७६÷७७ मा लक्ष्य भेटाउने संकेत गरेको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा लक्ष्य पुरा हुन सकेन । सो वर्ष नेपालले ९६ अर्ब रुपैयाँको मात्र निर्यात व्यापार गर्न सफल भएको थियो । तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशतको वृद्धि देखिएको विभागले जनाएको छ ।

                                                        वैदेशिक व्यापार स्थिति

यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको थियो । १० महिनाको तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशत र आयातको हिस्सा ९२.०४ प्रतिशत रहेको छ ।
यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । निर्यात र आयात दुवै बढे पनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ । यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३.०७ प्रतिशत बढी हो । यो अवधिमा  गत वर्ष ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

तपाईको प्रतिक्रिया