आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

सिटिजन्स बैंकले बिराटनरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्दे शेयर स्वाप डिडिएबाट निर्धारण गर्ने सम्झौता गरेको छ । एक्वायर गर्ने अन्तिम सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरेका छन् । चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु हुने संयोजक पाण्डेले जानकारी गराएका छन् ।
दुवै संस्थाले आफ्नो विशेष साधारण सभाबाट अन्तिम सम्झौता पारित गर्ने छन् । सो सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुनेछ । गएको माघ २८ गते दुई संस्थाले प्राप्तिका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता सेयर पाउने छन् । प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । त्यसतै बैंकले फाइनान्सलाई गाभे पछि निक्षेप संकलन १ खर्ब ३४ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ ।
प्राप्ति पश्चात् बैंकको कुल शाखा संख्या १८८ हुनेछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा फाइनान्सलाई गाभे पछि उक्त प्रदेशमा बैंकको शाखा संख्या २७ पुग्नेछ भने प्रदेश नं २ मा २१ वटा शाखाहरू रहेकोमा प्राप्ति पश्चात् २८ वटा शाखाहरू हुनेछन् ।
बैंकले प्रत्येक प्रदेशमा बलियो उपस्थिति जनाउन मर्जर  र प्राप्ति प्रक्रियालाई जोड दिँदै आएको छ । ग्राहक संख्या बढेर १२ लाख पुग्नेछ । यस्तै सञ्चालक पाण्डे सिटिजन्स बैंकको मर्जर समितिको संयोजक भएपछि उनको पहलमा ३ वटा संस्थाको प्राप्ति सम्पन्न भएको छ । उनी संयोजक भएपछि सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति भइसकेको छ ।

तपाईको प्रतिक्रिया