आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

इन्टरनेटको विस्तार तथा प्रयोगमा भएको वृद्धिसँगै इन्टरनेट उद्योगको बजार मूल्यमा भएको अस्वाभाविक बढोत्तरी (डट कम बबल) सन् २००२ मा आइपुग्दा धराशायी बन्यो जसले नयाँ इन्टरनेटमा आधारित युगका सबै आशालाई धूमिल पारिदियो । किनकि सन् २००० को दशकका सुरुवाती वर्षहरू प्रविधि क्षेत्रका लागि खासै उत्साहप्रद रहेनन् । सुरुवातमै Y2Z अर्थात् मिलेनियम बग नामक कम्प्युटर भाइरसले विश्वभरको कम्प्युटर प्रणालीलाई तहसनहस बनाएको थियो ।
तयपछिका दिनहरूमा प्रविधि जगतको उक्त क्षतिको पुनरुत्थान तीव्र गतिमा भयो र केही वर्षभित्रै पूर्णतः नयाँ प्रविधिहरू देखा परे जसले विश्वको संस्कृति, राजनीति तथा अर्थतन्त्रलाई नै रूपान्तरण गर्‍यो । एक्काइसौँ शताब्दीको पहिलो दुई दशक बितिसक्दा यसबीचमा प्रविधिको क्षेत्रमा कैयन् क्रान्ति भएका छन् ।
आइफोन ः हुनत आइफोन नयाँ चिज थिएन । आइफोन आउनुभन्दा अगाडि नै मोबाइल फोन थिए, कम्प्युटर थिए र फोनमै कम्प्युटर जोडिएका पनि थिए । आइफोन आफैमा उत्कृष्ट पनि थिएन किनकि फोन स्लो थियो, इन्टरनेट कनेक्सनले राम्रोसँग काम गर्दैनथ्यो र राम्रो भिडियो खिच्न पनि सकिँदैनथ्यो ।

आइफोन

तर आइफोन यस अर्थमा विशेष रह्यो कि यसले स्मार्टफोन युगको सुरुवात गर्यो । आइफोनले मानिसहरूको सञ्चारको शैली, सुन्ने, हेर्ने तथा सिर्जना गर्ने शैलीमै क्रान्ति ल्याइदियो । जीवनका सायद कुनै पनि पाटा त्यस्ता छैनन् होला जसलाई आइफोनसँग सम्बन्धित प्रविधिहरूले परिवर्तन नगरेको होस् । हरपल इन्टरनेटको कनेक्सन, सेल्फी क्यामरा देखि गोजीमा अट्ने उच्च प्रोसेसिंग पावरयुक्त कम्प्युटरसम्म ।

सोसल मिडिया ः सायद धेरै मानिसहरूलाई थाहा छैन होला कि २० औँ शताब्दीको अन्त्यतिर सोसल मिडियाको सुरुवात भएको हो । सन् १९९७ मा सुरु भएको Ix Degrees नै पहिलो सोसल मिडिया हो । उक्त सोसल मिडियाको नाम नै एउटा सिद्धान्तबाट प्रेरित थियो कि पृथ्वीका कुनै पनि मानिस केवल अरू ६ जना मानिसहरूबाट मात्रै अलग छन् । यो सोसल मिडियामा भएका प्रोफाइल, फ्रेण्ड लिस्ट जस्ता फिचरहरू लोकप्रिय पनि भए । तर Ix Degrees ले खासै धेरै प्रयोगकर्ताको मन जित्न सकेन । सन् २००० को दशकको सुरुवातमा Friend Reunited  र  Myspace  आएसँगै बल्ल सोसल नेटवर्कहरुले मूलधारको सफलता प्राप्त गरे । यद्यपि उल्लेखित सोसल मिडियाहरू फेसबुकको तुलनामा नगन्य नै रहे । मार्क जुकरबर्गले सन् २००४ मा सुरु गरेको फेसबुकले सोसल नेटवर्कको क्षेत्रमा एकाधिकार मात्र कायम गरेन  सोसल मिडियाको जगतमा देखा परेका सम्भावनायुक्त  सबै नयाँ प्रतिस्पर्धीहरूलाई निल्यो ।

सोसल मिडिया

सुरुमा सन् २०१२ मा फेसबुकले १ अर्ब डलरमा इन्स्टाग्राम खरिद गर्यो । त्यसपछि सन् २०१४ मा १९ अर्ब डलर खर्चिएर ह्वाट्सएप किन्यो ।
फेसबुकका सबै एपहरूमा गरी अहिले दैनिक प्रयोगकर्ताको संख्या २ अर्ब भन्दा धेरै छ । यसले हाम्रो आपसमा सञ्चार गर्ने शैलीलाई नै पुनर् परिभाषित गरिदिएको छ र हाइपर कनेक्टेडनेसको युगको सुरुवात गर्दै इन्टरनेट भनेको फेसबुक हो भन्ने आम बुझाइ तयार गरिदिएको छ।

बिटक्वाइन र क्रिप्टोकरेन्सी ः यो शताब्दीको सुरुवातमा विश्वको समग्र अर्थतन्त्रमा भएको आम पुनर् आविष्कार मानिसहरूले चर्चा गरेजस्तो थिएन । तर सन् २००७–२००८ मा विश्व वित्तीय संकट सिर्जना भयो । ऋणीहरू टाट पल्टिए, कम्पनीहरू धराशायी बने र सरकारहरूले टाट पल्टिएका बैङ्कहरूलाई दशौँ खर्ब डलर सहयोग गरे जसका कारण मानिसहरू कुनै उपयुक्त बाटो छ कि भनेर खोजी गर्न थाले ।
यसबिचमा एक जना व्यक्ति (समूह पनि हुनसक्छ) ले आफूसँग जवाफ भएको विश्वास गरे । सातोशी नाकामोटोको वास्तविक पहिचान अहिले पनि रहस्यमै छ । तर उनले सन् २००९ मा सिर्जना गरेको बिटक्वाइन नामक विद्युतीय नगद प्रणालीको प्रभाव केवल मुद्राको रूपमा मात्र सीमित छैन । यसमा प्रयुक्त ब्लकचेन प्रविधि, जुन ह्याक गर्नै नसकिने अनलाइन लेजर हो, त्यसले स्वास्थ्य सेवा देखि रियल स्टेट लगायतका सबै क्षेत्रमा रूपान्तरण गर्न सक्दछ । यद्यपि बिटक्वाइनले अझै पनि आफूलाई मूलधारको भुक्तानी प्रणालीको रूपमा स्थापित गरिसकेको छैन तथा विश्व अर्थतन्त्रलाई रूपान्तरण गर्न सकेको छैन ।

बिटक्वाइन

तथापि क्रिप्टोकरेन्सीको यो जम्मा एक दशकको अनुभव तथा प्रभाव अत्यन्तै अतुलनीय छ । बिटक्वाइनको सिको अहिले हजारौँले गरिरहेका छन् र यसमा फेसबुक र स्वयं चीन पनि डिजिटल करेन्सीको बाटोमा अगाडि बढेको छ । क्रिप्टोकरेन्सीको वास्तविक प्रभाव देखिनका लागि अझै १० वर्ष लाग्न सक्छ ।

युट्युब ः आम इन्टरनेट प्रयोगकर्ताको मिडिया उपभोगको शैलीलाई यो एक्काइसौँ शताब्दीमा युट्युबले आधारभूत रूपमा परिवर्तन गरिदिएको छ । सन् २००५ को अप्रिल २३ मा संस्थापक जावेद करीमले युट्युबमा पहिलो भिडियो अपलोड गरेका थिए । त्यसको एक वर्षपछि नै युट्युबलाई गुगलले १ अर्ब ६५ करोड डलरमा किन्यो र यसले जावेद करीम र युट्युबका अन्य संस्थापकहरुको मात्र होइन असंख्य युट्युब सर्जकहरूको पनि भाग्य बदलिदियो । सुरुमा केवल १८ सेकेन्डको भिडियो अपलोड भएको युट्युबमा हरेक एक मिनेटमै हजारौँ घण्टा बराबरका भिडियोहरू अपलोड हुने गरेका छन् ।

थ्री जी, फोर जी र फाइभ जी ः आर्थर सी क्लार्कले भनेका छन् ः पर्याप्त रूपमा विकसित कुनै पनि प्रविधि जादुभन्दा कम हुँदैन । तर एक्काइसौँ शताब्दीले विश्वको एक ठाउँबाट अर्को ठाउँका मानिसहरू तथा सूचनाहरूलाई जसरी तत्कालै जोडेको छ, त्यो जति शक्तिशाली त जादु पनि छैन। २१ औँ शताब्दीको सुरुवातमै थ्री जी इन्टरनेट प्रयोगमा आयो । त्यसको झन्डै १० वर्षपछि फोर जी । यो शताब्दीका हरेक दशकहरू एकपछि अर्को गर्दै नयाँ अत्याधुनिक, उच्च गतियुक्त तथा विश्वसनीय मोबाइल डाटा कनेक्सनको विकास भएको छ । र, इन्टरनेटको यो तिव्र विकासले यसमा आधारित विश्वलाई पुनर्लेखन गर्न सहयोग गरेको छ । विश्वमा यो शताब्दीमा भएका सोसल मिडिया देखि नागरिक पत्रकारिता लगायतका हरेक प्रविधिमा भएका प्रमुख ब्रेकथ्रुहरु डाटा कनेक्सनमै भर परेका छन् । विकसित भैसकेको तर अझै पनि संसारभर आम प्रयोगमा आइनसकेको फाइभ जी इन्टरनेटले पनि आगामी दशकलाई रूपान्तरण गर्नेछ ।
भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी पहिलो पटक स्टेरियोस्कोप विकास हुँदा मानिसहरू आफ्नै अगाडि देखिने अर्कै संसारमा हराउन पाइने सम्भावनाका कारण उत्साहित थिए र भर्चुअल रियालिटी भविष्यको सम्भावना बोकेर आएको थियो । तर सन् २००० को उत्तरार्धतिर मानिसरु कल्पना भन्दा पनि अर्थपूर्ण तथा यथार्थको संसारको खोजीमा लागे । विश्वका धेरै ठुला कम्पनीहरूले भर्चुअल रियालिटी हेडसेट उत्पादन गर्न छाडे र उपभोक्ताका कम्प्युटरहरू विश्वास गर्न सकिने काल्पनिक संसारको दृश्य तयार गर्न सक्षम बने, जसमा उपभोक्ताहरू खुसीसाथ समय बिताउन थाले । पछिल्लो समयमा प्रविधि जगत् भर्चुअल रियालिटीमा भन्दा अग्मेन्टेड रियालिटीमा केन्द्रित छ । यसले सूचनाहरूलाई वास्तविक संसारको उच्चतम स्तरमा प्रस्तुत गर्दछ न कि पूर्ण काल्पनिक र भर्चुअल संसारमा । गुगल ग्लासको असफलतालाई बिर्सने हो भने अग्मेन्टेड रियालिटी प्रविधिले बाँकी विश्वसँग अन्तरक्रिया गर्ने हाम्रो शैलीलाई परिवर्तन गर्ने, हरक्षण नयाँ नयाँ सूचनाहरू उपलब्ध गराउने र सञ्चार सम्पर्कका लागि स्मार्टफोन जस्ता प्रविधिमाथिको निर्भरता पनि हटाउन सक्दछ ।

अमेजनः अमेजनलाई सबै चिजको पसल भनेर पनि चिनिन्छ । र, अहिले यो सबै ठाउँको पसल बनेको छ, केवल इन्टरनेटको केन्द्रीय पसल मात्र होइन । यसले इन्टरनेट शपिंगबाट मानिसहरूले के अपेक्षा गर्छन् भन्ने कुरामा परिवर्तन ल्याउने बलशाली शक्ति बनेको छ । मानिसहरूको किनमेलको शैलीमा अमेजनले आमूल परिवर्तन ल्याइदिएको छ । आफूले चाहेको कुरा अनलाइनमा अर्डर गरी छोटो समयमै प्राप्त गर्न सकिने सुविधा प्रदान गरेर अमेजनले अनलाइन सपिङमा क्रान्ति ल्याइदिएको छ । यद्यपि अमेजन केवल अनलाइन पसल मात्र होइन । यसको आफ्नै इन्टरनेट पूर्वाधार छ । अमेजनको एलेक्सा स्मार्ट होम तथा भ्वाइस एसिस्टेन्टको क्षेत्रमा क्रान्ति ल्याउने अग्रणी प्रडक्ट हो र अमेजनको अनलाइन मात्र होइन होल फुड्स लगायतका भौतिक पसलहरू पनि छन् । इन्टरनेटको अधिकांश स्वामित्व आफ्नो हातमा रहेको अमेजनले के गर्छ भन्ने कुरामा विश्वको प्रविधि निर्धारित हुने अवस्था छ ।

विकिपेडियाः इन्टरनेटको विकास हुँदाका बखतमै के भनिएको थियो भने यसबाट विश्वका मानव समुदाये निःशुल्क रूपमा तथा सजिलैसँग चाहेको सूचना प्राप्त गर्न सक्नेछन् । तर गुगल र विकिपेडिया बाहेक अरूबाट यस्तो प्रतिबद्धता खासै पूरा भएको छैन । सन् २००३ मा जिम्मी वेल्सले स्थापना गरेको विकिपेडिया विश्वको पहिलो अनलाइन इनसाइक्लोपेडिया हो । विकिपेडियामा विश्वभरका जुनसुकै सदस्यले सामाग्रीहरू पोस्ट तथा सम्पादन गर्न सक्दछन् । विकिपेडिया स्थापना भएको पहिलो वर्ष नै १८ हजारवटा आलेख प्रकाशित भएका थिए । अहिले विश्वका विभिन्न भाषामा उपलब्ध विकिपेडियाको अंग्रेजी भाषा संस्करणमा मात्रै ५० लाख आलेख छन् र सबै सामाग्रीहरू पूर्णतः निःशुल्क र पहुँचयोग्य छन् ।

रोबोटिक्सः  सन् २००० मा जापानी कम्पनी होण्डाले मानवरुपी रोबोटको निर्माण गर्यो । एसिमो नामक उक्त ह्युमानोइड रोबोट केही तल झरेर कन्फ्रेन्स रूपमा छिर्दा दर्शकहरू छक्क परे । हालसम्म आइपुग्दा मानवरुपी दुई खुट्टे रोबोटको तीव्र विकास भैसकेको छ र यसले मानिसले सम्म गर्न नसक्ने ब्लाकफ्लिप देखि अन्तरिक्ष भ्रमण सम्मका काम गरिसकेको छ ।

रोबोटिक्स

अहिले रोबोटले औद्योगिक कार्यदेखि घरमा बूढाबूढीको हेरचाह गर्नेसम्मका काम गर्न थालेको छ । फाइभ जी तथा भर्चुअल रियालिटी जस्ता प्रविधिहरूका कारण रोबोटलाई टाढैबाट रियल टाइममा नियन्त्रण गर्न पनि सम्भव भएको छ ।

चालक विहीन र विद्युतीय कार ः घोडा तथा टाँगालाई यातायातको मुख्य साधनबाट विस्थापित गर्नका लागि अटोमोबाइल उद्योगलाई ५० वर्ष लाग्यो । तर सडक यातायातमा नयाँ पुस्तामा रूपान्तरण चाहिँ केही वर्षभित्रै सम्भव भएको छ । यसका लागि सवारीसाधन उद्योगका दुई नयाँ क्रान्ति भएका छन् ः एउटा विद्युतीय कार र अर्को चालक नचाहिने अर्थात् स्वचालित कार ।

विद्युतीय कार

यसमध्ये विद्युतीय कारको प्रयोग व्यापक बनिसकेको छ । विद्युतीय कारहरू उच्च गतियुक्त, सुरक्षित तथा विद्यमान इन्धन कार प्रयोगकर्तामाझ पनि लोकप्रिय बनिरहेका छन् । तर अझै पनि रिचार्जका लागि लाग्ने समयका कारण प्रतिस्पर्धी बन्न सकिरहेका छैनन् । तथापि ब्याट्री प्रविधिमा भएको पछिल्लो विकासले यो समस्या पनि समाधान गर्नेछ । किनकि वैज्ञानिकहरू केवल १० मिनेटमै विद्युतीय कार रिचार्ज गर्न सफल भएका छन्

तपाईको प्रतिक्रिया