आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

नेपालमा जारी लकडाउनको बिचमा पछिल्ला दिनमा प्रशोधित खाने तेलमा भएको मूल्य वृद्धि उत्पादकबाट गरिएको समाचार प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खाने तेलमा भएको अस्वाभाविक मूल्य वृद्धिको सम्बन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक सोधपुछ गरिए पछि संघले  प्रेस विज्ञप्ति मार्फत कारण खुलाएको छ ।
संघमा आबद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रूपमा विभिन्न ब्रान्डका सोयाविन ,सनफ्लावर तेल इत्यादि उत्पादन गरी स्थानीय बजारमा उपल्वध गराउँदै निकासी समेत गर्दै आइरहेका छन् । उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तथा सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत आयातमा निर्भर रहेको छ ।
उद्योगलाई आवश्यक कच्चा पदार्थ ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशहरूबाट आयात गरिन्छ । मुख्य कच्चापदार्थ आयातमा मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार अनुसार हुनेगरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा उत्पादित तेल

गत आ.व देखि हालसम्म करिब १६ महिनाको अवधिमा विश्वमा फैलिएको कोभिड महामारीका कारण खाने तेलको कच्चा पदार्थमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्य वृद्धि हुन पुगेको छ ।
सन २०२० मार्च महिना सम्म अर्जेन्टिनामा सोयाविन तेलको मूल्य प्रति.मेट ६५६ अमेरिकी डलर रहेकोमा हाल १२७९ डलर मूल्य पुगेको छ । त्यस्तै युक्रेनमा सनफ्लावरको तेलको मूल्यमा विगत १ वर्षमा लगातार वृद्धि भई ६५६ बाट १२७९ डलर पुगेको छ । युरोपबाट प्रकाशित हुने OIL World नामक पत्रिकाले  २३ अप्रिल २०२१ को अंकमा खाने तेलमा भएको मूल्य वृद्धिलाई प्राथमिकताका साथ छापेको थियो । कोभिड–१९ को निषेधाज्ञा सहित पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि र नेपाल भन्सार सम्मको ढुवानी असहज र महँगो हुन गएको कारण बताइएको छ । उद्योगलाई आवश्यक पर्न सहायक कच्चा पदार्थ र प्याकिङ सामाग्रीमा प्रयोग हुने सामानको मूल्यमा समेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक मूल्य चापको असर उपभोक्ता मूल्यमा पर्न गएको संघले जनाएको छ ।
अत्यावश्यक रहेको खाने तेलको उपभोक्ता मूल्यलाई तल ल्याउन सरकारले भन्सार महसुलमा लाग्दै आएको १० प्रतिशतलाई केही कम गर्नु आवश्यक छ । यसमा लाग्दै आएको १३ प्रतिशतको भ्याटलाई वहुदरमा नलगिएपछि  गत वर्षको तुलनामा सरदर रु २० ÷– प्रति लि. रहेकोमा हाल रु ४० ÷– भन्दा बढी पुगिसकेको जनाइएको छ ।

कच्चा पदार्थको मूल्य वृद्धि स्थिति

संघका अनुसार हालसम्म पनि चलन चल्तीको अन्तर्राष्ट्रिय लागत मूल्यको आधारमा उपभोक्ता मूल्यमा परिमार्जित नगरिएको बताइएको छ । संघका सदस्य उद्योगहरुवाट  कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि नगरिएको प्रस्ट पारेको छ । तर हालको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्य वृद्धिको कारण देखाउँदै हालको विषम परिस्थितिमा न्यून जनशक्तिबाट ४० प्रतिशतको उत्पादन क्षमतालाई निरन्तर राखी आपूर्ति व्यवस्थालाई सुचारु राखिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया