आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ समूहलाई उछिनेको छ । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहसको विषय बनेको छ ।
धेरै लगानीकर्ताहरुले यसलाई अचम्म मानिरहेका छन्  केही लगानीकर्ताहरुले त बैंकिङ सबइन्डेक्सलाई फाइनान्सले उछिन्नु भनेको कारको भन्दा अटो रिक्साको मूल्य धेरै भएको जस्तै भएको प्रक्रिया दिएका छन् । बिहीबार बैंकिङ समूहमा लगानीकर्ताहरूको आकर्षण नै देखिएको थियो । तर बिहीबार बैंकिङ सब इन्डेक्स बढेर १ हजार ९ सय ७ दशमलव ४६ अंकमा पुग्दा फाइनान्स बढेर १ हजार ९ सय ४२ दशमलव ५१ अंकमा पुग्यो ।

समूह परिसूचक

बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ । आजभन्दा २ वर्ष अघिको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार २ सय ९४ दशमलव २३ अंकमा थियो । त्यसबेला बैंकिङ सबइन्डेक्स १ हजार १५२ दशमलव २७ अंकमा थियो भने फाइनान्स ६२०.२९ अंकमा थियो ।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुली यी दुई इन्डेक्सहरुबीच तुलना हुनु सान्दर्भिक नहुने बताउँछन् । जुन समूहको सेयर मूल्य धेरै बढ्यो त्यही समूहको नै सबइन्डेक्स बढ्ने उनले बताए । अहिले समग्र बजारको कारोबार मापन गर्ने नेप्से इन्डेक्स छ भने ‘क’ वर्गका कम्पनीहरूको सेन्सेटिभ इन्डेक्सले मापन गर्छ । त्यस्तै १३ वटा समूहको कारोबार मापन गर्ने सबइन्डेक्सहरु रहेका छन् । तर सबैको गणना एकै तरीकारले हुने नेप्सेले बताएको छ ।

                                                नेप्से परिसूचक स्थिति

तपाईको प्रतिक्रिया