आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

काठमाडौं, जेठ २६ – नेपाल राष्ट्र बैंकले २०७८ ज्येष्ठ २६ गते जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८”को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी तथा विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापनमा सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले नेपाल राष्ट्र बैंकलाई धन्यवाद समेत दिएको छ ।
परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन “मेक इन नेपाल स्वदेशी”अभियानलाई अघि बढाएको छ  । नेपाल राष्ट्र बैंकको निर्णयले परिसंघको यस अवधारणा कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास हामीले लिएका छौँ ।
विनियमावलीको विनियम ३ मा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानी कर्ताले बैंकिङ्ग प्रणाली मार्फत नेपाल भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्रबैंकको स्वीकृति अनिवार्य नहुने व्यवस्थाले नेपालमा पूर्वाधार आयोजनाको अध्ययन अघि बढाउन र उद्योग दर्ताका लागि विदेशी लगानीकर्तालाई सहज हुने बताइएको छ ।
विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृतिमा निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन । यसले विदेशी लगानी कर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ ।
विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखांकनका लागि निवेदन दिएको ७ कार्य दिनभित्रमा लेखांकन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस व्यवस्थाले विदेशी लगानी र ऋणको लेखांकन छिटो सम्पन्न भई लगानीकर्तालाई समयमै निर्णय प्राप्त गर्ने सहज हुनेछ ।
विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको १५ कार्य दिनभित्र नेपाल राष्ट्र बैंकले निर्णय दिनुपर्ने व्यवस्था हुनुपर्ने परिसंघले जोडदार माग गरेको छ ।  यसले लगानीकर्ताले आर्जन गरेको कर कटा पछिको मुनाफा फिर्ता लैजान थप सहज हुने विश्वास गरिएको छ । एकल बिन्दु सेवा केन्द्रमा रहेको राष्ट्र बैंकको इकाई मार्फत रकम लैजाने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्थाले लगानीकर्तालाई सहज सेवा प्राप्त हुने विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण गर्न समितिको गठन गरेको छ । विनियमावली मार्फत गठन गरिएको यस्तो समितिले विदेशी लगानीकर्ताका समस्या समाधान हुन थप विश्वास परिसंघको छ ।

तपाईको प्रतिक्रिया