आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले जानकारी दिए ।
प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरिद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ । मिर्गौलाका बिरामीकालागि  डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५ खर्ब ६३ अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ । जसमा कृषिको योगदान ३९ प्रतिशत र गैर कृषि तर्फ ६१ प्रतिशत रहने प्रारम्भिक  अनुमान गरिएको जनाइएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड, प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि २ करोड, नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशसभामा मन्त्री यादवले जानकारी दिए ।
बजेट भाषणमा नेपाल सरकारको आर्थिक सर्वेक्षण अनुसार प्रारम्भिक  क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ३९ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै द्धितीय क्षेत्रको योगदान १०.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान ५०.२ प्रतिशत रहने बताइएको छ ।
चालु आर्थिक वर्षमा यस प्रदेशको  आर्थिक वृद्धिदर ३.५२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । प्रदेशको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन चालु यस वर्ष  ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन हुने अनुमान गरिएकोमा यस प्रदेश २ को योगदान सब भन्दा बढी २५.५ प्रतिशत रहने अनुमान गरिएको छ । चालु आ. व. मा ज्येष्ठ २० गतेसम्म आन्तरिक राजस्व परिचालन तर्फ रु. ३ अर्ब २ करोड १ लाख संकलन भएको जनाइएको थियो ।

तपाईको प्रतिक्रिया