आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सी माथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुक्तानीलाई रोक्न निर्देशन दिएको छ । जस कारण बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल झरेको सीएनएन एजेन्सीले जनाएको छ ।
गत शुक्रवार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । गत वर्ष विश्वमा भएको बिटक्वाइनको कूल उत्पादन मध्ये ६५ प्रतिशत चीनमै भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयको एक रिपोर्ट अनुसार चीनको सिचुआन प्रान्त बिटक्वाइनको दोस्रो ठुलो उत्पादकको रूपमा रहेको छ ।

तर पछिल्लो चिनिया कदमसँगै बिटक्वाइनको मूल्यमा झनै गिरावट देखिएको छ । सोमबार १० प्रतिशतले घटेको बिटक्वाइनको शेयर मूल्य मंगलबार झनै खस्किएर ३० हजार भन्दा तल झरेको छ ।गत अप्रिल महिनामा सबैभन्दा धेरै ६३ हजार डलर पुगेको बिटक्वाइनको मूल्य त्यसयता आधा भन्दा धेरैले घटिसकेको छ ।
चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले देशका मुख्य बैंक तथा भुक्तानी कम्पनीहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको व्यापार रोक्नका लागि कडा कदम चाल्नका लागि निर्देशन दिएको थियो । सबै बैंकहरुलाई क्रिप्टोकरेन्सीको कारोबारहरूमा ट्रेडिङ, क्लियरिङ तथा सेटलमेन्ट जस्ता वस्तु तथा सेवा उपलब्ध नगराउन निर्देशन दिइएको पिपुल्स बैंक अफ चाइनाले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
चीनको तेस्रो ठुलो कर्जा प्रदायक बैंकको रूपमा रहेको कृषि बैंकले केन्द्रीय बैंकको निर्देशिका कार्यान्वयन गरिसकेको र आफ्ना ग्राहकहरूबाट हुने क्रिप्टोकरेन्सी माइनिङ तथा कारोबार रोक्नका लागि सचेत रहेको जनाएको छ ।

चीनको हुलाक बचत बैंकले पनि क्रिप्टोकरेन्सीको कारोबारलाई प्रवर्द्धन नगर्ने जनाएको छ । त्यस्तै चीनको मोबाइल तथा अनलाइन भुक्तानी प्लाटर्फम अलिपेले अवैध क्रिप्टोकरेन्सी कारोबार पत्ता लगाउनका लागि अनुगमन प्रणाली स्थापना गरेको जनाएको छ । गत महिना चीनको मन्त्रीपरिषद्ले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियानकै हिस्साका रूपमा क्रिप्टोकरेन्सीको माइनिङ र कारोबार नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय घटिरहेको बिटक्वाइनको मूल्यमा अझै गिरावट आउन सक्ने विश्लेषकहरूले बताएका छन् । बिटक्वाइनको गिरावट सँगै अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य पनि घटिरहेको छ । विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सी माथि कडा नियमन हुने चिन्ता लगानीकर्ताहरूमा बढिरहेका कारण क्रिप्टोकरेन्सीहरुको मूल्यमा गिरावट आइरहेको बताइएको छ ।

सीएनएन

तपाईको प्रतिक्रिया