आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपाल उद्योग परिसंघले स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान सुरु गरेको जनाएको छ । संघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयनका लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो ।

यो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग र व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पुरा गरेका व्यवसायलाई अनलाइन मार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउने छ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने  उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।

लोगो

अभियान अन्तर्गत वार्षिक १ हजार उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्‍याउने त्यस्तै वार्षिक १ हजार औद्योगिक रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको छ । सन् २०२५ सम्ममा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात हुने अनुमान राखिएको छ ।

स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल – स्वदेशीको लक्ष्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताएका छन् । ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि , बजारीकरण र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखिएको छ ।

यो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए । यस अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परिसंघबीच समझदारीमा हस्ताक्षर भएको थियो ।

यस अभियानलाई व्यापक रूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोगगर्ने गरी लोगोको पहिचान गरिएको छ । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभई यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर अभिवृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यता हेरी उत्पादन वृद्धि गर्दे उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन तथा प्रवर्द्धन गर्नु आवश्यक हुने परिसंघको ठहर छ ।

तपाईको प्रतिक्रिया