आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

इजरायलमा नेपाली महिला कामदार पठाउने प्रक्रिया सुरु भएको वैदेशिक रोजगार विभागले जनाइएको छ । यसकालागि नेपालले सूची तयार गर्ने, कामदार इजरायलले छान्ने भएको छ । भिसा शुल्क रोजगारदाताले बेहोर्ने छ, अन्य लागत शुल्क कामदारकै हुनेछ । कामदारको न्यूनतम तलब १५ सय ४३ डलर रहनेछ ।

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगी कामदार पठाउने प्रक्रिया थालेको छ । पहिलो चरणमा इजरायलले एक हजारको संख्यामा सम्म नेपाली कामदार लैजानेछ ।

कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाको दाँजोमा आकर्षक गन्तव्य रहँदै आएको छ  । इजरायल जाने कामदारको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर (झन्डै एक लाख ८३ हजार रुपैयाँ) छ ।

मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउने सम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो । निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठुलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायल सरकारबिच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्र मार्फत भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो । इजरायलको भर्ना प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी) को संलग्नता छैन ।

कामदार छनोट र भर्ना प्रक्रियामा नेपालका तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलका तर्फबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरीटी (पीआईबीए) को संलग्नता रहनेछ । इजरायल स्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण भएर आउनासाथ कामदार भर्नाको छनोटका लागि सूचना अगाडि बढाइने विभागका महानिर्देशकले जानकारी दिएका छन् । विभागभित्रै इजरायल हेर्ने छुट्टै संयन्त्र बनेको छ । अब दूतावासलाई मागपत्र प्रमाणीकरण गर्ने बाटो खुलेको बताइको छ ।

अब जाने कामदार रोजगारदाताको घरभित्रै रहने गरी नभई स्याहार केन्द्रमा काम गर्ने छन् । यसअघि रोजगारदाताकै घरमै बसी काम गर्ने गरी कामदार लैजाने गरिएको थियो । विभागका अनुसार इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि नेपाली दूतावासले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका बमोजिम प्रमाणीकरण गर्नेछ । माग प्राप्त भएको १४ दिनभित्र विभागले पीआईबीएसँग समन्वय गरी २१ दिनको म्याद दिई सार्वजनिक सूचना जारी गरिनेछ । योग्यता पुगेकाले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया