आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रूपमा उनको यो पाँचौँ इनिङ हो ।
राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

यसका साथै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बुझिएको छ । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।
सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया