आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

सोमबार मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट भयो । सर्वसाधारणका लागि तीन लाख ६३ हजार ४९२ कित्ता छुटाइएको उक्त आईपीओ ३६ हजार ३४९ जनाले खल्तीमा पार्न सफल भएका थिए । आईपीओका लागि आवेदन दिएका दुई जनालाई ११ कित्ता आईपीओ परेको थियो । उक्त आईपीओमा १९ लाख १७ हजार ९२५ जना रित्तो हात भए ।

आईपीओको नतिजा आएको केही समयपछि सामाजिक सञ्जालमा लगानीकर्ताहरूले आईपीओ नपरेकोबारे निराशा समेत प्रस्तुत गरे

आईपीआ पार्न कसैले पाँच पटकदेखि त कसै–कसैले त अहिलेसम्म नै आईपीओ नपरेको उल्लेख गरेका छन् । ट्वीटरमा सन्तोष पन्थले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) पछि कुनै पनि कम्पनीको आईपीओ परिवारका सदस्यलाई समेत नपरेको गुनासो लेखेका थिए ।

पछिल्लो दुई साताको अवधिमा जीवन विकास लघुवित्त र मनकामना लघुवित्तको आईपीओको नतिजा आएका छन् । कुल सार्वजनिक निश्कासनको तुलनामा आवेदक अत्यधिक हुँदा आईपीओ नपर्नेहरूको गुनासो बजारमा धेरै देखिन थालेको छ । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ‘एक हजार रुपैयाँले जिन्दगीभर आईपीओ भर्न पुग्ने भो !’ भन्दै ट्रोलहरु निकै बनेका छन् ।

यस्तै ट्रोल फेसबुकमा सेयर गरेका गुल्मीका अच्युत भण्डारी ११ वटा आईपीओमा आवेदन भर्न एक हजारले पुगेकाले यस्तो स्ट्याटस लेखेको बताउँछन् । निफ्रापछि निरन्तर आवेदन दिएको ११ वटा कम्पनीको आईपीओ आफूलाई नपरेको उनले सुनाए । ‘हरेक कम्पनीमा १० कित्ता आवेदन गरेको छु, त्यही एक हजारले काम चलेको छ, ११ कम्पनी पुग्दा पनि सो रकम खर्च भएको छैन । कतिपयले भने सामाजिक सञ्जालमा अमेरिकी डिभी चिट्टा र आईपीओ पर्नु उस्तै मुस्किल भएको चर्चा पनि गरेका छन् ।

असार १७ देखि खुलेर सोमबार नतिजा सार्वजनिक भएको मनकामना लघुवित्तको आईपीओमा २० लाख ३६ हजार आवेदक सहभागी भएका थियो । तर त्यसको एकसाता पछि खुलेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ८२ हजार ८५५ आवेदन परेको सिडिएससी एण्ड क्लेरिङ हाउसले जनाएको छ ।

हरेक आईपीओमा झण्डै एक लाख हाराहारी नयाँ आवेदक थपिने गरेको क्लेरिङ हाउसका सूचना अधिकारीले बताए । असार १७ गते खुलेको आईपीओमा भन्दा एक लाख ४६ हजार बढी आवेदन असार २४ मा खुलेको युनियन लाईफमा परेको उनले बताए । मनकामना लघुवित्तको आईपीओमा निष्कासित आईपीओ संख्या भन्दा ७३ गुणा बढी आवेदन परेको थियो ।

यस्तै युनियन लाइफ इन्स्योरेन्सको संख्या ठुलो हुँदा पनि झण्डै चार गुणा बढी आवेदन परेको सीडिएससीले जनाएको छ । सानो संख्याको आईपीओ खुल्नु र प्राथमिक सेयरमा आवेदन गर्ने लगानीकर्ताको संख्या हृवात्तै बढ्दा आईपीओ पर्ने कुरा चिट्टा झै भएको उनले बताए । नेपाल पूर्नबिमा कम्पनी (एनआरआईसी) को आईपीओपछि सेयर बजारमा नयाँ आवेदकको बाढी आएको न्यौपाने बताउँछन् । उक्त आईपीओ पर्ने लगानीकर्ताले निकै राम्रो लाभ लिएपछि बजारमा आईपीओ होड बढेको सीडिएसीको बुझाइ छ ।

२०७६ चैतमा खुलेको नेपाल पूर्नबिमा कम्पनी (एनआरआईसी) को आईपीओमा तीन लाख ९१ हजार ६ सय २६ जनाबाट भएको आवेदन भएको थियो । त्यतीबेला उक्त आवेदन त्यस अघिको सबैभन्दा धेरै कीर्तिमानी आवेदन रहेको सीडिएसीका एण्ड क्लेयरिङ हाउसले जनाएको छ । त्यसको १५ महिनापछि २०७८ असार २४ मा खुलेको युनियन लाइफ इन्स्योरेनसको ओईपीओमा २१ लाख ८२ हजार ८५५ आवेदन परेको छ जुन १७ लाख ९१ हजार २२९ ले बढी हो । यस बिचका सबैजसो आईपीओमा उच्च आवेदनको कीर्तिमानी रहेको कम्पनीका अधिकारी बताउँछन्

गत माघ ३० गते निष्कासनमा आएको महिला लघुवित्तको सेयरमा १५ लाख ४० हजार ३५ आवेदकबाट आईपीओ मागका लागि निवेदन परेको थियो । त्यस लगत्तै खुलेको रुरु जलविद्युत कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदन परेको थियो । जुन अघिल्लो आईपीओमा भन्दा ६६ हजार ९०४ जनाको आवेदन बढी हो । फागुन २१ देखि खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख ४ हजार ६४८ आवेदन परेको सिडीएससीले जनाएको छ । उक्त आवेदन संख्या रुरुमा भन्दा एक लाख ९७ हजार ७२९ ले बढी हो । यस अवधिमा खुलेका सीईडीबी र सिंगटी जलविद्युतको सेयरमा भने कम आवेदन परेको थियो ।

नेपाल  पुनरबिमा कम्पनी (एनआरआईसी) ले २०७६ चैतमा ४ गते एक करोड ६० लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । जसमा आवेदन गर्ने सबैले आईपीओ पाए । कम्तीमा १० देखि बढीमा ६० कित्तासम्म आईपीओ निवेदकले पाएका थिए ।

दोस्रो बजारमा कारोबार खुलेपछि उक्त सेयरको मूल्य प्रतिकित्ता एक हजार ९७७ रुपैयाँसम्म पुग्यो । पाँच हजार लगानी गरेर ५० कित्ता आईपीओ पारेका लगानीकर्ताको सम्पत्ति बढेर ९८ हजार ८५० रुपैयाँसम्म पुग्यो । जसमा पाँच हजार लगानी गर्नेले कम्तीमा पनि ९२ हजार रुपैयाँ करबाहेकको नाफा आर्जन ग¥यो । पाँच हजार लगानी गरेर वैधानिक रूपमा ९२ हजार कमाउन सक्ने सोझो अर्थमा देखिएपछि सेयर बजारमा छिर्नेको लाम बढ्न पुगेको सेयर लगानीकर्ता दिलीप श्रेष्ठ बताउँछन् । सेयर बजारमा नयाँ मान्छे थपिनुमा एनआरआईसी कोशेढुंगा भएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपाने पनि सहमत छन् ।

यस्तै नेपाल पूर्वाधार विकास बैंक निफ्राको आईपीओ आवेदन गरेका सबैले सेयर पाए । हरेक आवेदकले दामासाही ५० कित्ता तथा अन्य धेरैलाई ६० कित्ताका दरले परेको सेयरको दोस्रो बजारको मूल्य प्रतिकित्ता ६६० रुपैयाँ भन्दा माथि पुग्यो । ६ हजार रुपैयाँ लगानी गरेर ६० कित्ता आईपीओ परेका लगानीकर्ताको सम्पत्ति बढेर दोस्रो बजारमा ३९ हजारभन्दा धेरै भएपछि यसले पनि लगानीकर्तालाई शेयर बजार वैध आम्दानीको आकर्षण गन्तव्य बन्यो ।

गत फागुनमा खुलेको महिला लघुवित्तको आईपीओको दोस्रो बजारको मूल्य पनि निकै आकर्षक रह्यो । प्रति एक कित्ता सेयरको दोस्रो बजार मूल्य पाँच हजार ३९० रुपैयाँ पुगेपछि एक हजार लगानी गरेर १० कित्ता आईपीओ पर्ने लगानीकर्ताको सम्पत्ति ५३ हजार नौ सय रुपैयाँ पुग्यो । एक हजार रुपैयाँ लगानी गरेर ५२ हजार रुपैयाँ खुद नाफा निक्लिएपछि सेयर बजारमा नयाँ लगानीकर्ताको बाढी नै देखिएको सीडिएससीको भनाइ छ ।

कुनै बेला सेयरमा आवेदन गर्नका लागि लगानीकर्ताले दिनभरको समय छुटाउनु पर्थ्यो । सूचनाको अभाव, सेयरबारेको ज्ञान कम र आईपीओ आवेदनको भौतिक प्रणालीका कारण सेयर बजारमा छिर्न मानिसहरू असहज ठान्थे । ‘कागजी फारम भरेर दिनभरि लाइनमा बसेर बिक्री प्रबन्धकमा फर्म बुझाउने, अर्धकट्टी लिएर राख्ने, सेयरको भौतिक प्रमाण पत्र लिने सारै झन्झटिलो काम थियो,’ पुराना लगानीकर्ताको अनुभव छ ।

तर अहिले नियमक निकायले सेयर बजारमा प्रविधिको अधिकतम प्रयोग गरेका कारण सेयर आवेदन, दोस्रो बजारमा बिक्री जस्ता कामहरू देशको जुनसुकै कुनामा बसेर मोबाइलबाटै गर्न सकिन्छ । सेयरको सबै प्रमाण डिजिटल भएको छ भने आईपीओ आवेदन देखि दोस्रो बजारमा बिक्री र रकम संकलनकालागि लगानीकर्ता अहिले कहीँ कतै जानु नपर्ने धितोपत्र बोडको भनाइ छ । सहजता, प्रविधि प्रयोग र नाफा सुनिश्चितता भएपछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश व्यापक भएको बोर्डका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना बताउँछन् ।

सेयर बजार बारेको ज्ञानको दायरा पनि पछिल्लो वर्षहरूमा फराकिलो भएको र युवाको आकर्षण बढ्दा बजार फैलिएको उनले बताए । बजारमा लगानीकर्ता बढ्दा कम्पनीहरूमा पनि आईपीओ निष्कासन लागि हौसला बढेको ढुंगानाले बताए । कुनै बेला जलविद्युत कम्पनीको आईपीओ नबिक्ने समस्या थियो तर अहिले कयौँ गुणा बढी आवेदन पर्छ, बजारमा व्यापक सुधार भएको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने । यसले दोस्रो बजारको भविष्यलाई थप फैलाइदिएको उनले बताए । धेरै आवेदन भएपछि सानो आकारको आईपीओ पर्न मुस्किल हुनु बजारको सामान्य नियम नै भएको पनि बोर्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया