आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपाली महिला कामदारलाई इजरायल पठाउने तयारी अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बर बहादुर सुनुवारका अनुसार इजरायल पठाउनको लागि सबै तयारी पुरा गरिसकेको छ । उनका अनुसार विभागले अहिले परीक्षाको लागि प्रश्नपत्र, फारम लगायतको डिजाइन विषयमा अन्तिम चरणमा छलफल भइरहेको छ ।

सरकारले लामो समयदेखि इजरायलमा कामदार पठाउने विषयमा छलफल गरिरहेको छ । त्यसै अनुसार विभागले केही दिनमा सूचना निकाल्ने तयारी गरेको सुनवारले बताए । त्यसको लागि आवश्यक पर्ने वेबसाइट तयारी अवस्थामा रहेको छ । इजरायल जानको लागि विभागले सबै प्रक्रिया अनलाइनमा राख्ने र हेल्प डेस्क पनि सञ्चालन गर्ने तयारी गरेको छ ।

साउनको पहिलो वा दोस्रो साता इजरायल जानको लागि फारम भर्ने काम सुरु गराइने  निर्देशक सुनुवारले बताएका छन् । अहिले सबै प्रक्रिया वेबसाइटबाट भर्न मिल्ने गरी तयारी गरेका छौँ । यो प्रक्रियाको हामीले सबै मापदण्ड तयारी भैसकेको जनाइएको छ ।

विभागले बनाएको वेबसाइटबाट कसरी फारम भर्ने भन्ने विषयको भिडियोसमेत हाल्ने तयारी गरिएको निर्देशक सुनुवारले बताए । उनले अहिलेको अत्याधुनिक प्रविधिलाई ध्यान दिएर सामान्य मानिसले समेत फारम भर्न सक्ने गरी वेबसाइट बनाएको जानकारी दिए । उनले माध्यमिक शिक्षाको पाठ्यक्रमलाई आधार मानेर अंग्रेजी भाषाको पनि परीक्षा लिने बताए । विभागले फारम भर्ने अवधि २१ दिनको राख्ने र तत्काल परीक्षा लिने तयारी गरेको छ । छनौटको प्रक्रिया सजिलो होस् भनेर डिजिटल प्रविधि अपनाइएको उनले बताए ।

एक हजारको हाराहारीमा इजरायल पठाउने तयारी गरेको सरकारले यो सबै प्रक्रिया विभाग मार्फत गर्नेछ । कुनै व्यक्ति वा म्यानपावरले इजरायल पठाउने प्रक्रियामा सहभागी जनाउन नपाउने निर्देशक सुनुवारले बताए । केही माननीयहरुले समेत इजरायल पठाइदिन्छु भनेर पैसा उठाएको जानकारी आएको छ । म सबैलाई जानकारी गराउन चाहन्छु, इजरायल कामदार पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा विभागले मात्र सबै तयारी गर्छ । यो सम्झौता नेपाल सरकार र इजरायल सरकार बिचमा भएको पनि उनले बताए ।

उनले विभिन्न माध्यमबाट पहिले इजरायल जाँदा केयर गिभरको रूपमा घरायसी काम गर्न जाने भएपनि यो पटक सरकारले पठाउने भएकाले केयर गिभर सेन्टरहरूका लागि मात्र पठाउने बताए । यय पटक सिएमए, अनमी तथा नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट तीन महिना केयर गिभरको तालिम लिएकोलाई मान्यता दिइनेछ ।

इजरायल कामदार पठाउने विषयमा अहिले एक हजारको संख्यामा मात्र पठाउने उनले बताए । उनले फेरि पनि हुन्छ, या अर्को पटक पनि इजरायल पठाउने वा नपठाउने भन्ने विषयमा इजरायल सरकारको माग अनुसार हुने बताए । अहिलेसम्म विभागले एक हजारको संख्यामा इजरायल पठाउने विषयमा मात्र तयारी गरेको पनि उनले बताए ।

इजरायलले अहिलेसम्म ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागसँग सम्झौता भएको छ । इजरायल सरकारले आफूलाई शंका लागेको विषयमा परीक्षा लिने विषयबाहेक नेपालको तर्फबाट गर्ने सबै काम फास्ट ट्रयकमा गर्ने उनले बताए । कोरोना संक्रमणले धेरै समस्या नभएको अवस्थामा छिट्टै कामदार इजरायल जान पाउने जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया