आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

निजी क्षेत्रका अग्रणी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग परिसंघको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको जनाएको छ ।

नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित एक समारोहका बिच प्लान्ट हस्तान्तरण तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पछि  प्लान्ट हस्तान्तरण गरिएको थियो ।

परिसंघका अध्यक्ष सतिश कुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त  अक्सिजन प्लान्टको उत्पादन क्षमता  ५० क्युबिक लिटर प्रतिघण्टा रहेको जनाइएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा आई सामाजिक कर्तव्य पुरा गरेको बताएका थिए । कोभिड–१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति सहज बनाउन सहयोग गरेको उनको जिकिर थियो । यस चुनौतीपूर्ण अवस्था पूर्ण स्थितिको सामना गर्न  सबैको साथ चाहिने बताएका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गर्न सफल भएको बताएकी थिइन । कोभिडकै बिचमा अस्पतालमा आइसियु र एचडियु बेड थपिएसङै थप १५ सय शैय्या निर्माणको चरणमा रहेको जानकारी गराइन । डिन शाहले परिसंघ एवं नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैकलाई सो प्लान्ट सहयोग गरिएकोमा धन्यवाद ज्ञापन गरिन ।

उक्त कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले  संकटको बिचमा निजी क्षेत्रको सहभागीतामा ठुलो सहयोग गरेको गर्दे प्रतिकूल अवस्थाका बिचमा पनि निजी क्षेत्रले आफ्नो सक्रियता देखाएको बताइएको थियो ।

प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवन रक्षाका लागि योगदान गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । साथै महामारी अझै नसकिएकोले सबै सचेत रहन आग्रह गरेका थिए ।

त्यसतै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकता अनुसार मर्मत सम्भार गरी आम जनतालाई नियमित सेवा प्रवाहमा अस्पताले ध्यान दिन आग्रह गरीयो ।

तपाईको प्रतिक्रिया