आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको गरिएको टिजिग फर्मा कम्पनीले जनाएको छ । आइतबार एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो उत्पादन  ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरू सार्वजनिक गरेको छ ।

सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरूबिच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने यो कम्पनी नेपालको पहिलो भएको बताएका छन् ।

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन थालिएको बताउँदै एक महिना भित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुर्‍याउने कम्पनीले लक्ष्य लिएको छ ।

शत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी अघि बढेको हो ।

टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भइसकेको छ भने यसको काभ्रेको बनेपा १ नालामा कुल १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग सञ्चालनमा छ । त्यसमध्ये अहिले २० हजार स्क्वायर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए ।

अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग डव्लुएचओको जिएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता २०७३ अनुरूप बनाइएको छ । उद्योगमा  नविनतम तथा अत्याधुनिक प्रविधि जडान भएका छन छ ।  टिजिगले हाल औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँच वटा ’फर्माकोपेल’, अरु ’नन् फर्माकोपेल श्रेणीमा छन् । यीमध्ये केही औषधि निर्यातका लागि समेत उत्पादन भएको छ । एन्टीक्यान्सर औषधिको विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताइएको छ ।

नेपालमा भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आयात हुने आउने गर्दछ । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपालीलाई सुलभ मूल्यमा उपलब्ध गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया