शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

परिसंघको हालै सम्पन्न १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उक्त साधारण सभाबाट सात उपाध्यक्ष निर्वाचित भएको संघले जनाएको छ । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषद्का सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन हुनुभएको हो । परिसंघको गभर्निङ काउन्सिलले ७ उपाध्यक्ष चयन गरेको हो ।

जस अनुसार निर्वाण चौधरी (सिजी इलेकट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( राज ब्रुअरी), हेमराज ढकाल (चन्द्रागिरि हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) परिसंघको उपाध्यक्ष चयन हुनुभएको छ।

मंगलबार परिसंघका एमिरेट्स अध्यक्ष, चौधरी समूहका विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका छन् ।  परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत समूहबाट १ जना उपाध्यक्षमा चयन गरिएको थियो । नवनिर्वाचित उपाध्यक्षहरूको शपथ ग्रहण मंगलबार नै सम्पन्न भएको थियो ।

कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणी संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिदै प्रत्येक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । सरकारको विभिन्न नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप सहित अघि बढाइनुपर्नेमा जोड दिएका थिए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले संघका गतिविधि मुलुकको औद्योगिक विकासमा केन्द्रित हुने बताउँदै मुलुकको दिगो विकासमा औद्योगीकरण विना सम्भव नरहेको उनको जिकिर थियो । परिसंघको भावी रणनीति औद्योगीकरणमा आधारित हुने उल्लेख गरिएको थियो ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू सरकारले नीति निर्माणको क्रममा गम्भीरताका साथ लिई, चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समेटिएको उल्लेख गरेका थिए ।

हालै सरकारले ’मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश गरिएकोमा स्वागत गरेका थिए । उद्योगले विद्युत् खरिदमा उत्पादकबाट ह्विलिङ चार्ज तिरेर सिधा विद्युत् खरिद गर्न पाउने  सरकारी सुविधालाई उल्लेखनीय कदम भएको बताएका थिए ।

उक्त कार्यक्रममा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले परिसंघले प्रत्येक नीतिमा उद्योगीक  सामूहकको हितलाई केन्द्रमा राखी काम गरेको उल्लेख गरेका छिन् । उनले नयाँ नेतृत्वले पनि त्यही रोडम्यापलाई अनुसरण गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया