शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

कर्जा नोक्सानी (प्रोभिजन) को नयाँ व्यवस्थाले बैंक तथा वित्त कम्पनीका कर्मचारीको सवा १ अर्ब रुपैयाँ बोनस गुम्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंकले निर्देशन जारी गर्दै असल कर्जाको १ प्रतिशत प्रोभिजनको व्यवस्थालाई ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत पुर्‍याएको छ ।

यो नयाँ व्यवस्था चालु आर्थिक वर्षका लागि मात्र नभएर बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा कायम असल कर्जामा समेत ०.३ प्रतिशत प्रोभिजनमा थप गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्दा बैंक तथा वित्त कम्पनीका कर्मचारीले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ बढी बोनस बापत पाउने रकम गुमाउनु पर्ने देखिन्छ ।

बोनश ऐन अन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई बोनश वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल आम्दानीबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्त पछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साता भित्र र केही बैंकहरुले दशैंमा र वार्षिक साधारण सभामा बोनश वितरण गर्छन् ।

वाणिज्य बैंकहरुले गत असार मसान्तसम्म र विकास बैंक र वित्त कम्पनीहरुद्वारा जेठ मसान्तसम्म प्रवाहित कुल कर्जा ४१ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीको औसत खराब कर्जा अनुपात १.५० प्रतिशत छ । जसअनुसार हाल बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको कर्जामा असल कर्जा ४१ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छ । सोही असल कर्जामा यस अघिसम्म बैंक तथा वित्त कम्पनीले १ प्रतिशत अर्थात् ४१ अर्ब १४ करोड रुपैयाँ प्रोभिजन गरिसकेका थिए । राष्ट्र बैंकले असल कर्जामा थप ०.३ प्रतिशत प्रोभिजन गर्न निर्देशन दिएसँगै १२ अर्ब ३४ करोड रुपैयाँ बढी प्रोभिजन बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तसम्म आर्जन गरेको नाफाबाट गर्नु पर्नेछ ।

बैंक तथा वित्त कम्पनीले कर्मचारीलाई बोनश वितरण गर्दा सञ्चालन खर्च कटाएर आउने नाफाबाट १० प्रतिशत वितरण गर्छ । सरकारलाई ३० प्रतिशत राजश्व र कर्मचारीको बोनश बाँकी नाफाबाट बुझाउनु पर्ने हुन्छ । राष्ट्र बैंकले थप ०.३ प्रतिशत प्रोभिजनको व्यवस्था गरेपछि गत आवको नाफाबाट बैंक तथा वित्त कम्पनीका कर्मचारीले पाउने बोनसबाट सवाँ अर्ब रुपैयाँ बढी कटौती हुने देखिएको हो ।

जसमा वाणिज्ज बैंकहरुले थप ११ अर्ब ५० लाख रुपैयाँ प्रोभिजनमा छुट्टाउँदा कर्मचारीको बोनसबाट १ अर्ब १० करोड रुपैयाँ कटौती हुने देखिन्छ

जेठ मसान्तसम्मको विवरण अनुसार विकास बैंकहरुले थप १ अर्ब ९ लाख ९० रुपैयाँ प्रोभिजनमा छुट्टाउँदा १० करोड ९९ लाख रुपैयाँ र वित्त कम्पनीहरूले २३ करोड ९० लाख रुपैयाँ प्रोभिजनमा छुट्टाउँदा २ करोड ३८ लाख रुपैयाँ कर्मचारीको बोनस कटौती हुने देखिएको हो । यद्दपि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई गत वर्षमा उठाउनु पर्ने ऋणको साँवा ब्याज भदौ १५ गतेसम्म उठाउने समय दिएको हुँदा बोनश बापत कटौती हुने रकम थपघट हुनसक्छ ।

२७ वाणिज्य बैंकले असार मसान्तसम्म ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको औसत खराब कर्जा १.४१ प्रतिशत छ । सो अनुसार वाणिज्य बैंकहरुसँग ३६ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ असल कर्जा छ ।

जसमा यस अघिको व्यवस्था अनुसार १ प्रतिशत प्रोभिजन गर्दा वाणिज्य बैंकहरुले असार मसान्तसम्म ३६ अर्ब ६८ लाख रुपैयाँ प्रोभिजन गरिसकेका थिए । तर थप ०.१ प्रतिशत प्रोभिजन गर्दा ११ अर्ब १६ करोड रुपैयाँ प्रोभिजन गर्दा गत आवमा वाणिज्य बैंकहरुले कुल ४७ अर्ब ८४ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापन अर्थात् प्रोभिजनमा खर्च हुने देखिन्छ ।

नयाँ व्यवस्था अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले औषतमा ४० करोड रुपैयाँ प्रोभिजन गर्दा औषतमा प्रत्येक बैंक वाणिज्य बैंकका कर्मचारीको ४ करोड ८ लाख रुपैयाँ बोनश बापत आउने रकम कटौती हुन्छ ।

तर, प्रत्येक वाणिज्य बैंकहरुले २१ करोड रुपैयाँदेखि पौने अर्ब रुपैयाँसम्म प्रोभिजन थप गर्नुपर्दा कर्मचारीको बोनश समेत २ करोड रुपैयाँदेखि पौने ९ करोड रुपैयाँसम्म गुम्ने प्रस्ट देखिन्छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमा ४ वटा बैंकका कर्मचारीको ५ करोडदेखि ७ करोड ८३ लाख रुपैयाँसम्म र २३ वटा बैंकका कर्मचारीको २ करोडदेखि ४ करोड रुपैयाँसम्म बोनश कटौती हुने देखिन्छ । जसमा सबैभन्दा एनआएसी एशिया बैंकको ७ करोड ८३ लाख रुपैयाँ र सबैभन्दा कम नेपाल बंगलादेश बैंक २ करोड १० लाख रुपैयाँ कर्मचारी बोनश कटौती हुने देखिन्छ ।

                                            राष्ट्र बैकको नयां व्यवस्थाले बैकगत बोनस घटने रकम

तपाईको प्रतिक्रिया