शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेपाल विद्युत् प्राधिकरणको ३६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्षा याममा बढी उत्पादन भएको बिजुली खेर जान नदिन सस्तो दरमा उपलब्ध गराउने योजना सुनाइन् । बिजुलीको खपत बढाउन खाना पकाउन महँगो ग्यास प्रतिस्थापन गरी सस्तो बिजुली प्रयोग गर्नुपर्ने उनको सुझाब थियो ।

केही वर्षयता बिजुली उत्पादन निरन्तर वृद्धि भएपछि सरकारले खपत बढाउन फरक–फरक महसुल दर लागू गर्ने ऊर्जा मन्त्रालयको योजनाका बारेमा बताइएको थियो । आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई ध्यान दिएर आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘आन्तरिक खपत बढाउन वर्षायाम र सुख्खा यामको लागि फरक फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ । आन्तरिक खपत बढाउँदा पनि बढी भएको विद्युत् छिमेकी देशहरूमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी रहेको उनले बताइन् ।

उनले अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्य योजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिइन् । ‘बिदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न उनले आग्रह गरिन् ।

‘यसबाट ग्यास खरिद बापत बिदेसिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युत् उपभोग गर्न पाउँछन्’, उनले भनिन् ।

नहर तथा कुलोबाट सिँचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिँचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने योजना बनाएको उनले बताइन् ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत जनताको लगानीमा अपर अरुण (१०६० मेगावाट), चैनपुर सेती (४१० मेगावाट), तामाकोशी पाँचौँ (१०० मेगावाट) आयोजना निर्माण अघि बढाउने मन्त्री भुसालले बताइन् । कर्मचारीहरूको लगानीमा अपर मोदी (६० मेगावाट) आयोजना निर्माणमा लगिने जानकारी उनले दिइन् ।

बुटवल–गोरखपुर, केरुङ (चीन)–रातमाटे जस्ता अन्तर्देशीय र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रशारण लाइन निर्माण गरी उत्पादित विद्युत् खेर नजाने साथै छिमेकी देशहरूमा समेत विद्युत् व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया