शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

शुक्रवार मौद्रिक नीति जारी गरी सेयर धितो कर्जामा ‘क्याप’ लगाएर केही कडाइ गरिए पनि त्यसले नपुग्ने भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत थप कडाइ गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति सार्वजनिक भए पनि त्यसको विस्तृत कार्यदिशा तथा स्पष्टता सहित नेपाल राष्ट्र बैंकले
‘एकीकृत निर्देशन’ जारी गरेपछि मात्र बैंक तथा वित्तीय संस्थाहरूमा लागू हुन्छ । त्यसैले एकीकृत निर्देशन जारी गर्दा सेयर धितो कर्जामा थप कडाइ गर्ने गरी निर्देशन दिने तयारी राष्ट्र बैंकले गरेको हो ।
लगानीकर्ताहरूले सेयर धितोबाट लिएको कर्जा पुनः सेयरमा नै लगानी गरी नाफा कमाउने चक्र निर्माण गरेको र सो चक्रले लगानीकर्ताका साथै बैंकहरुमा पनि समस्या हुने भएपछि राष्ट्र बैंकले कडाइ गर्न लागेको हो ।

सेयर धितो कर्जामा थप कडाइ गर्ने गरी एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । मौद्रिक नीतिमा नै विस्तृत कुराहरू राख्न लागिएको थियो । तर मौद्रिक नीति जारी हुनु अगावै सूचना चुहिएकोले त्यस्तो व्यवस्था गर्न सकिएन, अब एकीकृत निर्देशन मार्फत गर्छौँ।’

बैंकका अनुसार मौद्रिक नीति सार्वजनिक हुनु अगावै सूचना चुहिएपछि मौद्रिक नीति रोक्नका लागि अर्थमन्त्री देखि ठुला लगानीकर्ताहरूको दबाब आएको थियो । बैंकिङ नबुझेको र नेपाल राष्ट्र बैकभन्दा बाहिरबाट आएको अर्थशास्त्रीले भए त्यस दिनमा नै मौद्रिक नीति रोकेर उनीहरूले भने अनुसार सेयर कर्जा बढाउने थिए । तर बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझेका गभर्नर भएकोले दबाब झेलेर मौद्रिक नीति सार्वजनिक भएको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले विभिन्न संस्थाबाट बढीमा १२ र एकै संस्थाबाट बढीमा ४ करोड भन्दा बढी सेयर धितोमा कर्जा लिन नपाउने व्यवस्था गरेको छ ।
बजारमा साना अर्थात् १० करोड भन्दा मुनिको सेयर धितो कर्जा लिने ऋणीहरूको सख्य ९७ प्रतिशत छन् । तर बाँकी ३ प्रतिशतको हाराहारीमा मात्र १० करोड भन्दा माथिको सेयर धितोमा कर्जा लिएका छन् ।
तीन प्रतिशतका लागि पुरै मौद्रिक नीति नै परिवर्तन गर्न दबाब आएको गभर्नर महाप्रसाद अधिकारी निकट श्रोतले बताए ।

मौद्रिक नीति सार्वजनिक हुनु अगावै नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा दुईवटा संस्थाबाट जम्मा ५ करोड भन्दा बढीको सेयर धितोमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्नेबारे छलफल भएको थियो । तर गभर्नर अधिकारीले नै यसरी उकालो लागिरहेको बजारलाई ब्रेक हानेर रोक्ने काम गर्दा बजार कोल्याप्स हुने भन्दै बरु बिस्तारै सीमालाई घटाउँदै लैजाने सहमतिमा १२ करोड बनाइएको हो ।

पछिल्लो समय सेयर बजारमा दैनिक औसत २० अर्ब रुपैयाँको कारोबार भइरहेको छ भने सेयर बजार परिसूचक ३२ सय नाघ्ने क्रममा छ । आर्थिक अवस्था ओरालो लागेको अवस्थामा पनि सेयर बजार अस्वाभाविक रूपमा उकालो लागिरहेको बुझाइ नेपाल राष्ट्र बैंकको छ ।

बैंकहरुले अल्पकालीन रूपमा बजारमा लगानी गर्ने र नाफा हुनेबित्तिकै बेचेर नाफा बुक गर्ने गरेका कारण गत जेठमा राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरी बैंकहरुले एक वर्षभित्रमा किनेको सेयर बिक्री गर्न नपाउने तथा आफूले लगानी गरेको लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको थियो ।

पछिल्लो समय सेयर कर्जाको चक्रका कारण बजार उकालो लागिरहेको र क्र्यास भएको दिन हजारौँ लगानीकर्ता डुब्ने तथा बैंकहरुको खराब कर्जा पनि बढ्ने भएका कारण राष्ट्र बैंकले सेफल्यान्डिङ गर्ने नीतिगत व्यवस्था गर्न लागेको हो । राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेबाट बजारमा केही असर परे पनि दीर्घकालीन रूपमा बजारमा राम्रो हुने जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया