शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवनकुमार दाहालले निक्षेपको ब्याजदर घट्न सक्ने बताएक छन् । अहिले लोनेवल फन्डभन्दा पनि सीआरआर (अनिवार्य नगद मौज्दात) कायम गर्नुपर्ने फन्ड कसिलो छ । सरकारले स्थानीय तहका लागि, कर्मचारीको तलब लगायतका डेढ खर्ब रुपैयाँ हाराहारीमा निकासा गर्दै छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी रहेका दाहालले बताए ।

बैंकहरूले ३ प्रतिशतको सीआरआर कायम गर्नुपर्ने व्यवस्था छ । सरकारको रकम निकासा भएमा अन्तरबैंक ब्याजदर पनि घट्नेछ । अहिले नेपाल राष्ट्र बैंककाअनुसार यो साता भारित औसत अन्तरबैंक ब्याजदर ४.१० प्रतिशत रहेको छ । कुनै बेला यस्तो ब्याजदर १ प्रतिशत कम पनि हुने गर्थ्यो । किनभने बैंकिङ प्रणालीमा रकम भित्रिएपछि अभाव हुँदैन । यो बैंकको स्रोत हो ।

यसले गर्दा अन्तरबैंक ब्याजदर कम पर्न जान्छ । यसो भएमा कर्जाको ब्याज पनि अहिलेको भन्दा नियन्त्रणमा आउनेछ । वास्तवमा कर्जाको ब्याजदर बैंकको आधार दर (वेसरेट) मा भर पर्छ । प्रत्येक त्रैमासमा निर्धारण भएको आधार दरमा रहेर बैंकहरूले कर्जाको ब्याजदर कायम गर्छन् । गत आवको असार मसान्तमा बैंकहरूको यस्तो दर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको रहेको छ ।  यसको आधारदर  ५ दशमलव ४१ प्रतिशत छ । सबैभन्दा बढी आधार दर भने कुमारी बैंकको ७ दशमलव ९० प्रतिशत छ । यसबाहेकका बैंकको यसैबीचमा छ ।

सामान्यतया निक्षेपको ब्याजदर कम भए आधार दर कम पर्न जान्छ  र जति कम आधार दर त्यति कम कर्जाको ब्याजदर भन्ने बुझाइ छ । तर, कहिलेकाहीँ प्रिमियममा पनि भर पर्छ । यद्यपि बैंकहरूले मनलाग्दी प्रिमियम भने तोक्न पाउँदैनन् । तर, बैंकहरूले निक्षेपको ब्याजदरभन्दा ४.४ प्रतिशतसम्म थपेर कर्जाको ब्याजदर निर्धारण गर्नुपर्न पाउँछन् । यसलाई बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर अन्तर अर्थात् स्प्रेडदर भनिन्छ ।

यद्यपि बजारमा अधिक तरलता भइहाले पनि राष्ट्र बैंकले उपकरणहरू जारी गरेर नियन्त्रण गर्छ । बैंकिङ प्रणालीमा करिब २५ अर्ब रुपैयाँ हाराहारीमा तरलता कायम रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

अहिले वाणिज्य बैंकहरूको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) औसत ७८.४० प्रतिशतसम्म छ । गत सातासम्म वाणिज्य बैकहरूमा ४१ खर्ब १६ अर्ब रुपैयाँको निक्षेप रहेको छ । कर्जा प्रवाह ३७ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको भएको छ ।

बैंकमा बचत गर्न चाहने बचतकर्ता बैकगत दिने बढी ब्याज छान्न सकिन्छ । बैंकहरूले प्रायः जसो हरेक महिना निक्षेपको ब्याजदर परिवर्तन गरिरहेका हुन्छन् ।

यसपटक पनि भदौदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । यो पटक ब्याजदर झिनो मात्रै वृद्धि भएको छ । केही बैंकले भने ब्याजदर यथावत् नै राखेका छन् । यद्यपि अब बजारमा तरलता बढ्ने भएकाले अन्तर बैंक ब्याजदर अझै घटन सक्ने आँकलन छ । पछिल्लो समय यस्तो ब्याजदर ५ प्रतिशत हाराहारी पर्ने गरेको देखिन्छ ।

समग्रमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको साधारण बचतको न्यूनतम औसत ब्याजदर २.६६ प्रतिशत र अधिकतम औसत ४.२० प्रतिशत छ । यसअघिको तुलनामा अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशत विन्दु मात्रै बढेको हो ।

गत साउनमा बचतको अधिकतम ब्याज ४.१५ प्रतिशत मात्रै थियो । यो महिनामा १ दर्जन बैंकले यस्तो बचतको ब्याजदर बढाएका छन् । बाँकी बैंकले यथावत् राखेका छन् । साधारण बचतमा अधिकतम ब्याजदर सिभिल बैंकले ४.०५ प्रतिशतदेखि ६.०५ प्रतिशतसम्म दिएको छ ।

यस्तै नबिलले ५.०१ प्रतिशतसम्म निर्धारण गरेको छ । सो बैंकले साउनको तुलनामा १.५ प्रतिशत विन्दुले बढाएको हो । यसपछि सेञ्चुरी, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र नेपाल क्रेडिट एण्ड कमर्सले अधिकतम ५ प्रतिशतसम्म साधारण बचतको ब्याजदर तोकेका छन् । यसबाहेकका बैंकको योभन्दा कम ब्याजदर तोकिएको छ ।

यस्तै अहिले समग्रमा एक वर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ७.३० प्रतिशत रहेको छ । गत साउनमा यस्तो ब्याजदर औसत ७.१९ प्रतिशत थियो । यसबिच बैंकहरूले औसत ०.१६ प्रतिशत विन्दुले ब्याजदर बढाएको देखिन्छ ।

यद्यपि हाल यस्तो मुद्दतीमा सबैभन्दा बढी सिभिल र प्रभु बैंकले ८.२५ प्रतिशत ब्याजदर दिएका छन् । यसपछि क्रमशः ः नेपाल बैंकले ८.०५ प्रतिशत, प्राइम बैंकले ७.७६, नेपाल क्रेडिट एण्ड कमर्सले ७.७५, एनआईसी एसियाले ७.५६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यसपछि नबिल र मेगा बैंकले ७.५१ प्रतिशत, एनएमबी बैंक, सिटिजन्स, नेपाल बंगलादेश बैंकको ७.५० प्रतिशत ब्याजदर दिएका छन् । यसैगरी, सानिमा बैंक ७.२७, कृषि विकास बैंक र सेञ्चुरी ७.२५ प्रतिशत ब्याजदर तोकिएको छ । यसैगरी माछापुच्छ्रेले ७.०५, ग्लोबल आईएमईले ७.०१ प्रतिशत ब्याजदर तोकेको छ ।

>यसबाहेक, बैंक अफ काठमाडौँ, हिमालयन, सनराइज, एभरेस्ट, कुमारी, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ र लक्ष्मी बैंकले १ वर्षे मुद्दतीमा ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यस्तो निक्षेपमा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशतसम्म दिएको छ ।

यो महिना न्यून मात्रै वृद्धि भएको ब्याजदर आगामी महिनामा भने घट्ने संकेत देखिएको छ। बजारमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर पनि घट्न सक्छ । साथै आगामी महिना निक्षेपको ब्याजदर पनि घटने सम्भावना छ । सरकारले डेढ खर्ब रुपैयाँ निकासा गर्ने भएपछि तरलता बढ्न सक्ने भएकाले ब्याजदर घट्ने आँकलन गरिएको हो ।

तपाईको प्रतिक्रिया