शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

औषधि व्यक्तिको जीवनसँग रक्षामा सरोकार राख्ने वस्तु हो । बिरामी भएका व्यक्तिलाई स्वस्थ्य पार्न औषधि प्रयोग गरिन्छ । तर, त्यही औषधि खरिदमा सप्तरीका पालिकाहरूले चरम लापर्बाही गरेको पाइएको छ । जिल्लाका १८ मध्ये १६ स्थानीय तहले लापर्बाही गर्दै प्रक्रिया नै नपुर्‍याई औषधि खरिद गरेको फेला परेको महालेखापरीक्षकले जनाएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा जिल्लाका पालिकाहरूले मापदण्ड बाहिरगई औषधि खरिद गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको हो । कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पालिकाहरूले खरिद गरेको औषधि कुन कम्पनीबाट खरिद भएको हो त्यसबारेमा पनि उल्लेख गरिएको छैन ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उप नियम १ (क) मा २० लाखसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर पालिकाहरूले यो नियमको धज्जी उडाएका छन् ।

आपूर्ति हुने औषधि डब्लूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन, मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा त्यस्तो केही पनि राखेको पाइएको छैन ।

खरिद गरिएको औषधि बिक्रीको लागि होइन भनी खुलाएको पनि नपाइएको प्रतिवेदनमा भनिएको छ । त्यसबाहेक आपूर्ति भएका औषधि एवं सर्किजल सामान स्टोर दाखिला हुनुअघि स्पेसिफिकेशन अनुसार भए÷नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।

स्थानीय तहगत खरिद गरेका औषधि र मूल्य

प्रक्रिया नै नपुर्‍याई स्थानीय तहमा खरिद गरेको औषधि मध्ये सबैभन्दा बढी कञ्चनपुर नगरपालिकाले ६९ लाख ९८ हजार १ सय १ रुपैयाँ को खरिद गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाले रु.३९ लाख ८९ हजार २ सय ५६ को औषधि किन्दा सप्तकोसी नगरपालिकाले रु ३९ लाख ८९ हजार २ सय ४९ को खरिद गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाले रु. १४ लाख ८५ हजार ७ सय १८ को सोझै र नगरपालिकामा सूचना प्रकाशन गरी रु १९ लाख ९० हजारको औषधि खरिद गरेको छ ।
यस्तै, राजविराज नगरपालिकाले फरक–फरक मितिमा रु.२४ लाख १३ हजार ८ सय १३ , खडक नगरपालिकाले रु.३५ लाख ३७ हजार ७ सय ७१, महादेवा गाउँपालिकाले रु. २९ लाख ९८ हजार ७ सय ८८, राजगढ गाउँपालिकाले रु. २८ लाख ९६ हजार १ सय १०, रुपनी गाउँपालिकाले रु. २१ लख ६३ हजार ६ सय ५२ को औषधि खरिद गरेको छ ।

तिरहुत गाउँपालिकाले रु.२१ लाख ८० हजार २ सय ८३, बलान बिहुल गाउँपालिकाले रु. १९ लाख ९७ हजार २ सय ४०, बोदे बर्साइन नगरपालिकाले रु. १९ लाख ९९ हजार ४ सय ४०, शम्भुनाथ नगरपालिकाले रु. १९ लाख ५० हजार ३ सय ९० ।

त्यस्तै सुरुङा नगरपालिकाले रु. १४ लाख ९५ हजार ४ सय ७, छिन्नमस्ता गाउँपालिकाले रु. १४ लाख ४८ हजार ७ सय १८ र तिलाठी–कोइलाडी गाउँपालिकाले रु.१६ लाख १५ हजार ३ सय ८० को औषधि खरिद गरेको छ ।

महालेखा परीक्षकले औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुनेगरी अभिलेख राख्न स्थानीय तहलाई सुझाव दिएको छ ।

तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भए÷नभएको यकिन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्न तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको औषधिहरू जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिन सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया