शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

लगानी योग्य रकम घटेर सिडि रेसियो सीमा नजिक पुगेपछि बैंकहरुले कर्जामा कडाइ गर्न थालेका छन् । तर बजेट कार्यान्वयनपछि तरलता बढ्ने अपेक्षा गरिएको छ ।

बैङ्कहरूमा लगानीयोग्य रकम घटेपछि कर्जा लगानीमा केही कडाइ गर्न थालेका छन् । केन्द्रीय बैंकले सिडि रेसियो लागु गरेपछि बैङ्कहरूमा लगानी योग्य रकम केही घटेको हो । पछिल्लो समय निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी बढिरहेको छ यसले गर्दा कतिपय बैंकहरुले कर्जा लगानीमा केही कडाइ सुरु भएको हो ।

निक्षेप बढ्न नसकेपछि बैंकिङ्ग प्रणालीमा रहेको तरलता समेत घट्दै गएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार सोमबारसम्ममा बैंकिङ्ग प्रणालीमा २५ अर्ब रुपैयाँ तरलता छ । यसमा पनि राष्ट्र बैंकले केही दिन अघि मात्रै दुई साताको लागि २० अर्बको रिपो जारी गरी बजारमा रकम पठाएको थियो ।

बैंकहरुको अन्तर बैंक ब्याजदर समेत ४.९० प्रतिशतभन्दा माथि पुगेको छ । गत शुक्रबारसम्मको तथ्यांकलाई हेर्दा वाणिज्य बैंकहरुको औसत सिडि रेसियो ८७.५२ प्रतिशत पुगेको छ । यो भनेको केन्द्रीय बैंकले तोकेको सीमाको साढे २ प्रतिशत मात्रै कम हो ।

अहिले बैंकहरु केन्द्रीय बैकबाट ५ प्रतिशत ब्याजदरको स्थायी तरलता सुविधा र ओभर नाइट रिपो लिएर तरलता व्यवस्थापन गरिरहेका छन् । कतिपय बैंकहरुको सिडि रेसियो टाइट हुने अवस्थामा पुगिसकेको छ । उनीहरू थप निक्षेप नलिई कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

यसबाट ती बैंकहरुले कर्जा लगानीमा केही कडाइ गर्न थालेका हुन । अहिले समग्र बैंकिङ्ग क्षेत्रलाई हेर्दा सिडि रेसियो टाइड पोजिशनमा नै रहेको र कतिपयको टाइट नै भइसकेको कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बताउँछन् ।

तर, कृषि विकास बैंकले भने अहिले सिडि रेसियो ८५ प्रतिशत भन्दा कम नै रहेकोले सहज रूपमा कर्जा लगानी गरिरहेको उनले बताए । “चालु आर्थिक वर्षमा नै १ खर्ब १६ अर्ब कर्जा लगानी भएकोले पनि कतिपय बैंकहरुको पहिलो त्रैमासको टार्गेट पुरा भइसकेको हुन ।”

सबै बैंकले त्रैमासिक रूपमा व्यवसाय विस्तारको टार्गेट राखेका हुन्छन् । केही बैंकले टार्गेट अहिले नै पुरा हुन लागिसकेको कारणले पनि कर्जा लगानीमा केही कडाइ गरेका छन् ।

“कतिपय बैंकको कर्जा लगानी टार्गेट अनुसार पुरा भइसकेको हुनसक्छ त्यसले गर्दा पनि केही कडाइ गरेको हुन सक्छन्,“ । चालु आर्थिक वर्षमा निक्षेप ६५ अर्बले घटेको छ । कर्जा १ खर्ब १६ अर्ब बढेको छ । राजस्वले पनि डेढ खर्ब पैसा तानेको छ ।

यसको कारणले बैङ्कहरूमा अहिले लगानी योग्य रकम कम भएको बैंकरहरु बताउँछन् । यता नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवम् सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि समग्र बैंकिङ्ग इन्डस्ट्रीलाई हेर्दा अलिकति कर्जा दिन सक्ने अवस्था भएपनि केही बैंकको भने सिडि रेसियो माथि गएको बताउँछन् ।

“केही बैंकको सिडि रेसियो माथि पुगेको छ भने कोहीको अलि तल नै छ । माथि पुगेका बैंकले अहिले कर्जा दिन कम गरेका छन्,“ उनले भने।

नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई निक्षेप अनुसार कर्जा लगानी गर्न आग्रह गरेको छ । आइतबार वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा केन्द्रीय बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई निक्षेप अनुसार कर्जा लगानी गर्न आग्रह गरेको छलफलमा सहभागी एक बैङ्कका प्रमुख कार्यकारी अधिकृतले बताए ।

सिभिल बैङ्कका सिइओ सुनिल पोखरेल पनि अहिले बैङ्कहरूमा लगानीयोग्य रकम कम भएको कारण ऋण दिन कम गरेको बताउँछन्। ‘कर्जामा कडाइ गरेको भन्दा पनि बैंकहरुसँग पैसा नै नभए पछि कसरी ऋण दिनु,’ उनले भने।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिदेखि नै चालु आर्थिक वर्षमा कर्जा लगानी सीमामा राख्न प्रयास गरेको छ । गत आर्थिक वर्षमा २७ प्रतिशतले बढेको बैंकहरुको कर्जा लगानीलाई १९ प्रतिशतमा सीमित गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

यति मात्र होइन केन्द्रीय बेंकले कतिपय कर्जाहरूमा कडाइ समेत गरेको छ । कर्जा लगानी सीमित गर्न केन्द्रीय बैंकले गत वर्ष शतप्रतिशत भन्दा धेरै बढेको मार्जिन कर्जामा केही कडाइ गरेको छ ।

अहिले बैङ्कहरूमा निक्षेप संकलन खासै बढ्न सकेको छैन भने कर्जा लगानी लगातार बढ्दो क्रममा छ । यसले गर्दा कर्जा लगानीलाई सीमामा राख्न केन्द्रीय बैंकले आइतबारको छलफलमा बैंकहरुलाई निक्षेप आएअनुसार कर्जा लगानी गर्न आग्रह गरेको हो ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैङ्कहरूमा तरलता खासै बढ्न सकेको छैन । जसले गर्दा बैंकहरु अहिले ब्याजदर बढाएर निक्षेप संकलन बढाउने तयारीमा लागेका छन् ।

धेरै बैंकहरुले अहिले नै मुद्दती निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशतसम्म पुराइसकेका छन् । अन्य बैंकहरु पनि आगामी असोजदेखि ब्याजदर बढाउने तयारीमा छन् । लगानीयोग्य रकम जुटाउनको लागि ब्याजदर केही बढाउनुपर्ने आवश्यकता रहेको बैंकरहरु बताउँछन् ।

बैंकमा तरलता बढ्ने आधार

बैङ्कहरूमा अहिले तरलता कम भए पनि अब केही बढ्न सक्ने आधारहरू भने तय भएका छन् । बैङ्कहरूमा निक्षेप बढ्ने माध्यम भनेको मुख्य तीनवटा छन् ।  सर्वसाधारणको निक्षेप, सरकारको खर्च र रेमिटेन्स ।

अहिले सर्वसाधारणको निक्षेप बढ्ने अवस्था अझै नबनिसकेको बैंकरहरु बताउँछन् । तर नयाँ सरकारको बजेट गत शुक्रवार मात्रै आएको छ । यसले गर्दा अब बजेट कार्यान्वयनमा गएपछि सरकारको खर्च बढ्ने भएकोले खर्च बढ्दा त्यसले तरलता सहज बनाउन केही भूमिका खेल्ने कृषि विकास बैङ्कका सिइओ उपाध्याय बताउँछन्।

सरकारको बजेट कार्यान्वयनमा नजाँदा अहिलेसम्म बजेट खर्च हुन सकेको छैन । तर, राजस्व संकलनले गर्दा बैंकको डिपोजिटबाट पैसा भने बाहिरिएको अवस्था छ । यसले गर्दा बजेट कार्यान्वयन भएसँगै बैङ्कहरूमा त्यसले केही तरलता थप हुनेछ ।

यसैगरी पुन कर्जाको सीमा अझै डेढ खर्बको बाँकी छ । त्यसको प्रयोगले पनि बैङ्कहरूमा लगानी योग्य रकम बढाउन केही मद्दत पुग्छ । चाडपर्व नजिकिँदै गर्दा रेमिटेन्स बढ्न सक्ने आँकलन गरिएको छ ।

विगतका वर्षहरूमा पनि चाडपर्वलाई लक्षित गरी विदेशमा रहेकाहरूले रेमिटेन्स पठाउने गरेका छन् । यस वर्ष पनि चाडपर्व नजिकिँदै गर्दा रेमिटेन्स बढेमा बैङ्कहरूमा तरलता केही बढ्न सक्छ ।

यसबाहेक केन्द्रीय बैंकले केही दिन अघि मात्रै टिआर कर्जाको सीमा ९० दिनमा झारेको छ । यसअघि यस्तो सीमा १८० दिन रहेको थियो । यसले पनि बैंकिङ्ग प्रणालीमा तरलता केही बढाउन सहयोग पुर्‍याउने बैंकरहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया