बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

अर्थमन्त्री जर्नादन शर्माले संसदमा प्रस्तुत गरेको आ.व २०७८–०७९ को प्रतिस्थापन बजेटमा नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । सो सुविधा उपलब्ध गराउन नाडाले यस अघि गरिएको माग सम्बोधन गरिएकोले बजेट अत्यन्त सकारात्मक रहेको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताएका छन् ।

 

अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट मार्फत नेपालमा एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल शीर्षक ८७.०२,८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गर्ने तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिइने सरकारी नीतिले अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) ले खुसी व्यक्त गरेको छ ।

बजेटले छुटको व्यवस्था गरेसँगै नेपालमा सवारीसाधन एसेम्बलिङ्ग उद्योग स्थापना हुन थप सहज हुने भएको नाडाले जनाएको छ । तर यस प्रकारका सवारीसाधनहरू उत्पादनमा एसेम्बलिङ्ग उद्योगसङ सम्बन्धित नीति–नियमहरू स्थिर हुनु त्यतिकै महत्त्वपूर्ण हुने गर्दछ । सरकार परिर्वतनसंगै यसतर्फका एन नियममा परिवर्तन हुन नहुनेमा नाडाले जोड दिएको छ ।

देशको वर्तमान जटिल आर्थिक अवस्थामा पनि २०७८–०७९ को प्रतिस्थापन बजेट आउँदा नाडा सहित सम्पूर्ण निजी क्षेत्र खुसी भएको जनाइएको छ । कोरोना महामारी जोखिम अझै रहेकोले सार्वजनिक सवारीसाधनको प्रयोगमा कमी आएकोले मोटरसाइकलबाट बिरामी लगायत दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्नुपर्ने स्थिति सृजना भएकोले मोटरसाइकलमा वृद्धि गरिएको अन्तःशुल्क घटाइ थप प्रोत्साहन गर्नुपर्ने नाडाले जोडदार माग गरेको छ ।

आ.व २०७८–०७९ को प्रतिस्थापन बजेटमा मोटरसाइकलको सडक दस्तुर महसुल र अन्तःशुल्क दुबैमा वृद्धि गरिएकोले प्रयोगकर्तामा मूल्यवृद्धिको मारपर्ने भएकोले सरकारबाट शीघ्र सम्बोधन गरिनुपर्ने बताइएको छ ।

शहर तथा ग्रामीण भेगमा अत्यधिक प्रयोग गरिने मोटरसाइकलको सहज तथा सुलभ प्रयोगकालागि सडक दस्तुर महसुल र अन्तःशुल्क दुबैमा गत वर्ष कायम भएको दरलाई निरन्तरता दिइनुपर्ने नाडाका अध्यक्ष दुलालले सरकार समक्ष आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया