बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सिर्सिया सुक्खा बन्दरगाहमा पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ । करिब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक बन्दरगाहमा प्रवेश गरेको थियो ।
भारतको हल्दिया बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान बोकेर आएको निजी क्षेत्रको रेल ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले हरियो झण्डा देखाएर उक्त रेललाई स्वागत गरेका थिए । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता नजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि ८८ कन्टेनर बोकेर उक्त रेल नेपाली भूमिमा प्रवेश गरेको हो । सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेसो मुलुकबाट आयात गरेको मालवस्तु रहेका छन् ।

भारतीय निजी क्षेत्रको रेल

हिन्द टर्मिनल्स प्रालिका महाप्रबन्धक अभिनव गुप्ताले सबै कन्टेनरमा गेडागुडी तथा खाद्यान्न वस्तुहरू रहेको बताए । नेपाली आयातकर्ताहरूको माग र आवश्यकता अनुसार तत्काललाई साताको २ पटकसम्म भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगन्जसम्म यसरी रेल्वे ¥याक ल्याइने उनले बताए । गुप्ताले भारतको निजी क्षेत्रको नेपाल प्रवेशले अब भारतीय रेल्वेको भगिनी संस्था कंकणको एकाधिकार तोडिएको बताए ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले सुक्खा बन्दरगाहमा भारतको सरकारी र निजी क्षेत्रको रेलबिच प्रतिस्पर्धा भएपछि रेल्वे भाडा दर सस्तो हुने बताए । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले २ महिना अघि नेपाल र भारत सकारबिच भएको रेल्वे सर्भिस  सम्झौता अनुसार, नेपाली, भारतीय वा विदेशी निजी कम्पनीले पनि मालवाहक रेल चलाउने स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले आफ्नो रेल ल्याउन पाएको बताए ।

हिन्द टर्मिनल्ससँगै भारतको अन्य निजी क्षेत्रका रेल पनि नेपाल आउन इच्छुक रहेको र उनीहरू प्रयासरत पनि रहेकाले भविष्यमा थुप्रै भारतीय निजी कम्पनीहरूको रेल यहाँसम्म आउनेमा आफू आशावादी रहेको उनले बताएका थिए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले भारतीय निजी क्षेत्रको रेलको नेपालमा प्रवेशले ३ वटा फाइदा हुने बताए । ‘यसले एकातिर ढुवानी सेवामा प्रतिस्पर्धा बढ्छ भने त्यसले ढुवानी लागत कम पनि हुन जान्छ,’ उनले भने, ‘त्यससँगै नेपाली आयात–निर्यातकर्ताको अब समयको पनि बचत हुन जान्छ ।’

२०६१ सालदेखि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहमा स्थापना कालदेखि भारतीय रेल्वेको भगिनी संस्था कंकणको रेलकै एकाधिकार थियो ।

तपाईको प्रतिक्रिया