बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सरकारले बजेट प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटले गर्दा  फलामे छडको मूल्य महँगो हुने भएको छ । विलेट आयत गर्दा सरकारले भन्सार  र अन्तःशुल्कमा वृद्धि गरेका कारण फलामे छडको मूल्य अत्यधिक वृद्धि हुन गएको नेपाल स्टिल रोलिंग मिल्स एसोसिएसनले जनाएको छ ।

पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र त्यसमा  मिसाउन चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) पैठारी गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्क लाग्ने गर्दछ ।

अब प्रतिस्थापन बजेटमा सोझै विलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र एक हजार ६५० रुपैयाँ प्रति मे.टनबाट वृद्धि गरी दुई हजार पाँच सय प्रति मे.टन अन्तःशुल्क लाग्ने भएको एसोसिएसनले जनाएको छ ।

हाल देशमा साना ठुला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरू मध्ये ६ वटा उद्योगले मात्र पत्रु पगाली डण्डी उत्पादन गदै आएका एसोसिएसनले जनाएको छ ।  पत्रुसँग मिसाउने स्पञ्ज आइरनको भन्सार महसुलमा ० प्रतिशत भन्सार लाग्ने तर आयातित विलेटको भन्सार दर वृद्धि हुने भएकाले सोझै विलेट प्रयोग गरी उत्पादन गरिने डण्डी स्वतः महँगो हुन एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसले गर्दा बहुसंख्यक डण्डी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकी घाटा व्यहोर्दै बन्द हुने स्थितिको सिर्जना हुने एसोसिएसनको भनाइ छ । एक खर्ब लगानी रहेका छड तथा फलाम उद्योगमा असर परेमा यसको प्रत्यक्ष प्रभाव बैंकको लगानीमा समेत पर्ने देखिन्छ ।

कच्चा पदार्थमा शून्य प्रतिशत भन्सार महसुल हुनु भनेको विश्व व्यापार संगठन (WTO) को नीति विपरीत भएको एसोसिएसनले बताएको छ ।

स्पञ्ज आइरन र विलेट दुवै कच्चा पदार्थ नै हुन, आइरन ओरबाट निर्मित हुने एसोसिएसनले जनाएको छ । जसमा स्पञ्ज आइरनमा ० प्रतिशत भन्सार दर रहेको छ भने विलेटमा ४.७५ प्रतिशत भन्सार दर रहेको छ ।

जसले गर्दा २४ वटा उद्योगहरूले विलेटबाट डण्डी उत्पादन गर्दा प्रति के.जी. ५ देखि ६ रुपैयाँसम्म महँगो हुँदा ग्राहकलाई प्रत्यक्ष मर्का पर्न जान्छ । प्राइम विलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नु बाध्यता हो ।

स्थानीय व्यवसायलाई उकास्ने भनिएको छ तर यस प्रकारको उद्योगबाट उत्पादित सामान गुणस्तरयुक्त नहुने हुँदा निर्मित संरचना टिकाउ हुँदैन र राजश्व संकलनमा समेत असर पर्छ । साथै राज्य र जनताको लगानी खेर जाने एसोसिएसनको भनाइ छ ।

हाल उपभोक्ताले अत्यधिक रुचाएको विश्व प्रसिद्ध 500D ग्रेडको फलामे छडको माग भएको र ठुला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरूमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको 500D ग्रेड नै आवश्यक हुने एसोसिएसन जनाएको छ ।

अतः स्पञ्ज आइरनबाट फलामे छड उत्पादन गर्दा 500D ग्रेड बराबरको गुणस्तर हुन सक्दैन, उक्त गुणस्तरको लागि आयात गरिएको प्राइम बिलेट नै चाहिन्छ ।

नेपाल भूकम्पीय जोखिमको देश भएको हुँदा पनि बलियो र गुणस्तरीय निर्माणको लागि न्यूनतम 500D ग्रेडको विकल्प नभएको एसोसिएसनको भनाइ छ ।

पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर गर्ने एसोसिएसन बताएको छ । चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ भने भारतमा यस्ता उद्योगहरूलाई कडा निगरानीमा राखिएको छ ।

स्पञ्ज आइरनबाट डण्डी बनाउँदा बिजुली खपत र रोजगारी त बढ्छ तर ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुन्छन् ।  उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई हुँदैन । यस प्रविधिबाट डण्डी बनाउँदा धेरै मात्रामा जोखिम हुँदा कामदारहरू दुर्घटनामा पर्ने, जनधनको क्षति हुने हुँदा कामदारको हित विपरीत छ ।

यस व्यवस्थाले वित्तीय संस्था धराशायी हुने, राजश्व गुम्ने र यसमा संलग्न मजदुरहरूको रोजगारी गुम्न जाने सम्भावना रहेको छ । यस अध्यादेशले गर्दा ६ वटा उद्योगहरू यसबाट लाभान्वित हुने देखिए तापनि बाँकी बहुसंख्यक २४ वटा उद्योगलाई प्रत्यक्ष असर परी विस्थापित हुने देखिन्छ ।

सरकारले सम्बन्धित पक्षहरूसँग छलफल नै नगरी बारम्बार गरिने नीतिगत परिवर्तनले लगानीमा अस्थिरता पैदा हुने र लगानीको वातावरण खलबलिन गएको छ । अर्कोतर्फ आद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

आयातित सामानको भन्सार छुटाउने कार्य तथा उद्योगबाट उत्पादित फलामे छड बिक्री वितरण कार्य समेत हाललाई रोकिएको एसोसिएसनले बताएको छ ।

हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुने गरी उद्योग सञ्चालन गर्न सकिने र छिटै नै १० लाख टन बिलेट उत्पादन हुने गरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने उनीहरूको दाबी छ ।

यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरूले सिधै लाभ पाउने उनीहरू बताउँछन् । कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरूले किन्ने डण्डीको लागत घट्ने र ग्राहकहरूलाई समेत सस्तो हुने उनीहरूको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया