बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नवलपरासीमा सञ्चालनमा रहेको एसियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरूमा नेपाल गुणस्तर प्राप्त गर्ने एसियन कंक्रिट पहिलो भएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत वैशाखमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्ड अनुसार उत्पादन सुरु गरेको छ ।

“नेपालमा यस्ता सामग्रीको मापदण्ड नबनिसकेको अवस्थामा हामीले युरोपियन तथा भारतीय मापदण्डलाई अनुसरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौँ ।’ अध्यक्ष रुङ्गाटाले बताएका छन् ।”

नेपाल सरकारले यस सम्बन्धी मापदण्ड बनाएपछि एसियन कक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरूप उत्पादन गर्दै आएको छ ।’ उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।
कम्पनीले कर्बस्टोन र इन्टरलक ब्लकका लागि नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको अग्रवालले बताए ।

कार्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०÷९० प्रतिशतसम्म खपत हुने गरेको छ । यदि सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको उत्पादन मात्रै प्रयोग गरेमा सरकारको वार्षिक अर्बौँ रुपैयाँ मर्मत सम्भार बापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट श्यामल झाको दाबी छ ।

विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रोडक्ट उत्पादन सहित उद्योग पनि लागिसकेका थिएनन् । बाध्य भएर सरकारले गुणस्तरहीन प्रोडक्ट प्रयोग गरिरहेको थियो ।

इन्टरलक ब्लक

अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् । त्यही भएर सरकारले पनि अब देखि  बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन प्रयोग योजना अघि सार्नुपर्ने झाले बताएका छन् ।

उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फुटपाथ देखि शहरी क्षेत्रका भित्री सडक बनाउन सकिन्छ । विश्वका विभिन्न मुलुकमा भित्री तथा सहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाइएका छन् ।

नेपालमा पनि यस्ता खाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा सहरी सडक बनाउँदा टिकाउ, वातावरणमैत्री र मर्मत सम्भारमा लाग्ने खर्च समेत जोगिने कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए ।

सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुक्खा बन्दरगाहमा एसियन कक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ ।

तपाईको प्रतिक्रिया