बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

भारतीय समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा निजी रेल कम्पनीले सेवा सुरु गरे लगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको कम्पनीले भाडा स्वात्तै घटाएको छ ।

नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलो पटक निजी रेल कन्टेनर बोकेर वीरगन्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन यसअघि ढुवानी सेवा दिइरहेको भारतीय कन्टेनर निगम (कोन्कर) ले भाडा घटाएको हो ।

कोन्कर

३ महिनाअघि मात्रै भारतीय निजी रेल सेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने गरी सम्झौता संशोधन भएको थियो । बुधवार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

कोन्करले बुधवारै जारी गरेको सूचनामा कोलकाता बन्दरगाहबाट वीरगन्जसम्मको प्रतिकन्टेनर भाडा ३१ देखि ३७ प्रतिशतसम्म घटाएको देखिन्छ । त्यस्तै हल्दिया बन्दरगाहबाट हुने ढुवानीमा पनि भाडादर उल्लेख्य घटाएको छ ।

कोन्करले तत्कालै लागू हुने भन्दै भाडादर पुनरावलोकनको सूचना निकालेको हो । सन् २००४ को रेलसेवा सम्झौताले भारतीय रेलवेको सहायक कम्पनी कोन्करलाई एकाधिकार दिएको थियो । वीरगन्ज सुक्खा बन्दरगाहसम्म भारतीय रेलवेले रेलमार्ग बनाइदिएको थियो ।

कोन्करको एकाधिकारका कारण रेल भाडामा मनपरी भइरहेको भन्दै नेपालको निजीक्षेत्रले सम्झौता संशोधनको माग गर्दै आएको थियो । नेपाल सरकारले संशोधन प्रस्ताव राखे पनि विगतमा भारतीय पक्षबाट आनाकानी हुँदै आएको थियो ।

निजी रेल कम्पनीले सेवा सुरु लगत्तै भाडा घटाउनुले विगतमा कोन करले नेपालका लागि कन्टेनर ढुवानीमा मनपरी भाडा लिएको पुष्टि भएको व्यवसायीहरू बताउँछन् । कोन करले कोलकाता बन्दरगाहबाट वीरगन्जसम्म कन्टेनर ल्याएर खाली कन्टेनर पुनः कोलकातास्थित सिपिङ कम्पनीको यार्डमा पु¥याउँछ ।

यो शर्तमा २० फिटको कन्टेनरमा ३१ मेट्रिक टनसम्मको मालसामानको नयाँ भाडादर भारतीय रुपया (भारू) ३९ हजार ८५६ छ । ४० फिटको कन्टेनरमा ३० मेट्रिक टन ल्याउँदा ५८ हजार ८ भारू पर्छ । मंगलगवारसम्म यो दर क्रमशः ६१ हजार ४६६ र ८५ हजार १९८ भारू थियो ।

कोलकाता र हाल्दियाबाट मालवस्तुको अन्य परिमाणका आधारमा तोकिएको भाडामा पनि व्यापक कटौती भएको छ । कोन करले हल्दिया बन्दरगाहबाट वीरगन्जसम्मको भाडा पनि २५ देखि ३१ प्रतिशतसम्म घटाएको छ ।

तपाईको प्रतिक्रिया