बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सरकारले कोभिड १९ विरुद्ध खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेश सहज हुन अन अराइभल भिसा प्रदान गर्ने निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनर्स्थापित सहित यस तर्फका  उद्योगको पुनरुत्थानमा सकारात्मक असरपर्ने जनाइएको छ ।

मन्त्रिपरिषद्को यही २०७८ असोज ६ गतेको बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ स्वीकृत गरेको थियो । यही आदेशमा विदेशबाट नेपाल आउने यात्रुले पालना गर्नुपर्ने नियमहरू उल्लेख गरिएको छ ।

नेपाल ट्राभल टुर एसोसिएशन लगायतका पर्यटनतर्फका संघ–संस्थाले यसकालागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ ।

कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अन अराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटक आवागमनमा वृद्धि भई पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने जनाएको छ ।

अन अराइभल भिसा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गति विधिलाई सहजरूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेमा जोड दिइएको छ ।

अन अराइभल भिसा खुला गरिए पनि अझै केही मुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छ । नेपाल सरकारले नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रवर्द्धन गरी विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिनुपर्नेमा बताइएको छ ।

सरकारले कूटनीतिक पहल मार्फत पर्यटनका लागि आकर्षक गन्तव्यको सुचीमा पर्ने देशहरूमा नेपाललाई रेड लिस्टबाट हटाउन पहल गर्नुपर्ने पर्यटन क्षेत्रका अगुवा व्यवसायी तथा नाटाका अध्यक्ष अच्युत गुरागांइले बताए । ‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराई विदेशी नागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिने सन्देश दिनुपर्दछ ।’

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपाल स्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । एन्टिजेन पोजेटिभ देखिए पर्यटकहरू आइसोलेसनमा बस्नुपर्नेछ भने नेगेटिभ आएमा आफ्नो गन्तव्य प्रस्थान गर्न सक्नेछन् ।

कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा प्राप्त गरेका सबै नागरिकलाई सहज रूपमा नेपाल भ्रमणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया