बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नेपालको निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयर जहाजमा एकपछि अर्को खराबी देखिएपछि काठमाडौँ फिर्ता भएको खबर आजका अनलाइन मिडियाको प्रमुख समाचार बनेको छ । नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्न समेत सफल भएको बुद्ध एयरको बिहान साढे ७ बजे काठमाडौँबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौँ फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । ‘ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, उनले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।

बुद्ध एयरका अधिकारीहरूले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।

त्यस्तै आजै बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेलामा प्राविधिक समस्याले पाङ्ग्रा नखुलेपछि काठमाडौँमै फिर्ता भएको थियो । उक्त जहाजले आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गर्ने सफल भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङ स्थलमा गइसकेको बताए ।

जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्य सहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ तर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुले पछि विराटनगरको तुलनामा काठमाडौँमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौँ फर्काइएको बताइएको छ ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ–बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजले आकाशमा धेरैबेर फन्को लगाइ रहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्स देखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’

तपाईको प्रतिक्रिया