बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

व्यावसायिक घराना चौधरी समूहले आर्थिक वर्ष २०७७÷७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बिच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको समूहले जनाएको छ । चौधरी समूहका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५÷७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६÷७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र समूहले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।

चौधरी समूहको खाद्य पदार्थ देखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । समूह मातहत सञ्चालित विभिन्न कम्पनीले उक्त राजस्वमा योगदान गरेका हुन । ‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ समुका अध्यक्ष विनोद चौधरीले भने ।

“स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा उनको विश्वास छ ।”

तपाईको प्रतिक्रिया