बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

अहिले नेपालमा निर्माण हुने गरेका अधिकांश विज्ञापनमा नेपालीपन देखिँदैन । छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, भियतनाम, थाइल्यान्ड लगायत देशमा बनेका विज्ञापन हेरेर तिनैको आधारमा निर्माण हुने गरेका छन् । तिनै विज्ञापनहरू टेलिभिजन, रेडियो, पत्रपत्रिकादेखि सामाजिक सञ्जाल मार्फत प्रसारण र प्रकाशन हुने गर्दछ । त्यसैको माध्यमबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन तथा बेचबिखन हुने गर्छ ।

नेपाली समाज, भाषा–संस्कृति, रहन सहन, खानपान हाम्रा छिमेकी मुलुकहरूको भन्दा भिन्न छ । यो हाम्रो मौलिकता हो । पहिचान हो । तर, हाम्रा विज्ञापन निर्माताहरूले त्यसलाई बुझ्न सकेका छैनन् । वा बुझेर पनि बेवास्ता गरिरहेका छन् , यो गम्भीर विषय हो ।

नेपाली विज्ञापन बजारले वस्तु तथा सेवाको प्रवर्द्धन तथा बिक्री वितरणका लागि छिमेकी मुलुकमा बनेका विज्ञापनहरू र विदेशी लेखकहरूले लेखेका पुस्तक पढेर त्यसकै आधारमा निर्माण गर्ने गरेको पाइन्छ  ।
विदेशी लेखकका पुस्तकहरू पढ्नु राम्रो कुरा हो । सैद्धान्तिक आधारहरू तिनै पुस्तक हुन् र त्यहीँबाट सिक्ने हो । तर, त्यसैको हुबहु नक्कल गर्नु खराब हो । अहिले त्यही भइराखेको छ ।

भारतमा पनि १९८० को दशकसम्म अंग्रेजी लेखकहरूको पुस्तकको प्रभावबाट त्यहाँका विज्ञापन निर्माताहरू बाहिर आउन सकेका थिएनन् । ग्राहक चाहन्थ्यो– विज्ञापनमा भारतको भाषा, संस्कृति, रहन सहन आओस । तर, विज्ञापन निर्माताहरूको टाउकोमा भने अंगे्रजी भूत सवार थियो ।

त्यसैबिच पनि केही यस्ता विज्ञापन निर्माताहरू निस्किए जसले भारतीय विज्ञापन निर्माणको स्वरूपमै परिवर्तन ल्याइदिए । विज्ञापनमा भारतीय मौलिकता भाषा, संस्कृति, वेशभूषा र भौगोलिकतालाई समेट्ने कार्य भएको थियो ।

उनीहरूले लक्षित समूहलाई मध्यनजर गरी विज्ञापन निर्माण गरे । अहिले नेपाली विज्ञापन बजार भारतको १९८० को दशकको स्थितिबाट गुज्रिरहेको छ । नेपाली विज्ञापन बजारमा ‘आउट अफ द बक्स’ को कुरा त गर्छौैैँ, तर ‘इनबक्स’मै अल्झिरहेका छौँ ।

देशको भावना र आत्मलाई विज्ञापनको कथामा ल्याउने प्रयास नै गरिएन । आफ्ना विचारहरूलाई कहिल्यै प्रस्तुत गरेनौँ । नेपाली विज्ञापन निर्माताहरूले विज्ञापन बजारलाई जहिले पनि रोटी सेक्ने कामका रूपमा मात्र उपयोग गरे ।

सिर्जना कुनामा थन्कियो । विज्ञापन भनेको व्यावसायिकता मात्र होइन, कला पनि हो । भलै यो विशुद्ध कला होइन । व्यावसायिक कलामा काम गर्नेहरूले अरूको भावनालाई कदर गर्दै काम गर्नुपर्ने हुन्छ ।
त्यो हामी पाउँदैनौँ । नेपाली विज्ञापनको क्षेत्रमा काम गर्नेहरूले कसका लागि र केका लागि विज्ञापन बनाइरहेका छौँ भन्ने नै सोच्दैनन् ।

संसारमा अधिकांश मानिसहरूका भोगाइ उस्तै हुन्छन् । विषय वस्तुमा विविधता हुन सक्छ  । इच्छा, आकांक्षा, सपना, दुःख, पीडा संसारभरि सायद एकै प्रकारका हुन्छन् । फरक भूगोल र समाज मात्र हो ।
भूगोल र समाज अनुसार त्यसको आकार प्रकारमा विविधता अवश्य हुन्छन् । तर, भावनात्मक पक्ष एकै प्रकारको हुने गर्दछ । त्यो विषयवस्तु र नयाँ सिर्जनाहरू हाम्रो विज्ञापनमा आउन सकेको छैन ।

विज्ञापनमा मौलिकता त्यसको स्वरूपसँग हुने गर्दछ । त्यही स्वरूपसँग नेपाली भावना, माटो, रहन सहन, संस्कृति लगायत हाल्न सक्यौँ भने त्यो मौलिकता हो । यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।
विज्ञापनलाई लक्षित समूहले आत्मसात् गर्दैन भने त्यो विज्ञापन फजुल खर्च मात्र हो । हामी त्यही गरिरहेका छौँ । हामी हाम्रो विज्ञापनमा कहाँनिर चुक्यौँ । निर्माताहरूले विज्ञापन निर्माण गर्दा कहिल्यै आफ्नो माटोको कुरा गरेनन् ।

विज्ञापनमा लक्षित समूहको कथा बुनेनन् । काम गर्‍यौँ, तर उत्तरआधुनिक बन्ने सोचमा धरातल बिर्सियौँ । होडबाजी त ग¥यौँ, तर जमिन विनाको । आधारभूमि विनाको प्रतिस्पर्धा मौलिकताविनाको नाच मात्र हो भन्ने हेक्का राखेनौँ ।

अरूको कला, संस्कृतिलाई अँगालेर आफ्नो जग खोज्नु मूर्खता सिवाय केही हुँदैन । अहिलेको नेपाली विज्ञापनको अवस्था त्यही हो ।

तपाईको प्रतिक्रिया