बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

हिमालयन–इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रियामा आएको दरारले पछिल्लो समय यी दुई बैंकबीच जारी मर्जरमा तुहिन सक्ने सम्भावना बढेको छ ।

विशेष गरी कुन बैंकको आइटी सिस्टम एकीकृत भएपछि प्रयोग गर्ने भन्ने विषयमा यी दुई बैंकको उच्च व्यवस्थापन तथा सञ्चालक समेत विभाजित बन्न पुगेका छन् । यो विषयको कमप्लेन राष्ट्रबैंक र गभर्नर महाप्रसाद अधिकारीसमक्ष समेत पुगेको हो । सो विषयमा राष्ट्रबैंकले समेत चासो दिएको छ ।
राष्ट्रबैंकस्थित उच्च स्रोतकारअनुसार हिमालयन बैंकले इन्भेस्टमेन्ट बैंकका सञ्चालकहरूले आफ्ना केही कुराहरू लुकाउन निकै राम्रो र गुणस्तरीय भए पनि आफूहरूले प्रयोग गरिरहेको आइटी प्ल्याटफर्ममा जान नसकिने उजुरी गरेका छन् ।

इन्भेस्टमेन्ट बैंकका केही सञ्चालकले भने हिमालयन बैंकले प्रयोग गरिरहेको आइटी प्ल्याटफर्म महँगो भएकोले त्यसको साटो आफूहरूले प्रयोग गरिरहेको सस्तो आइटी प्रयोग गर्ने वातावरण बनाइदिन गभर्नरलाई समेत गुहारेका उच्च स्रोत दाबी गर्छ ।
राष्ट्रबैंकले दुवै पक्षबाट उजुरी आइसकेपछि यसमा चासो दिएर कुरा बुझ्ने काम भइरहेको छ । गभर्नर निकट स्रोतको दाबी छ । यसमा गभर्नरले समेत चासो दिएका छन् ।

आइटी प्ल्याटफर्म महँगो हुनु नै ठुलो इस्यू नभएको, बरु त्यो विश्वस्तरीय हुनुपर्नेमा गभर्नरको जोड छ।
गभर्नरले कोभिड रिपोर्ट नेगेटिभ आएलगत्तै यो विषयमा दुवै बैंकका अध्यक्षसँग समेत कुरा गरिसकेका स्रोत बताउँछ । आइटीकै विषयमा विभाजित नहुन र मर्जरलाई अगाडि बढाउन गभर्नरले निर्देशन दिएका समेत बुझिएको छ ।

गभर्नरले निर्देशन दिए पनि दुवै बैंकका उच्च अधिकारी आ आफ्नो दाबी छाड्ने अवस्थामा छैनन् । दुवै बैंकले आफू–आफूले प्रयोग गरेको आइटीमा नगए मर्जर नै भाँडिनसक्ने सम्मको चेतावनी दिइसकेका छन्।
केन्द्रीय बैकस्थित स्रोतका अनुसार इन्भेस्टमेन्ट बैंकले प्रयोग गरिरहेको आइटीभन्दा हिमालयनले प्रयोग गरेको आइटी अढाई करोड महँगो देखिएको छ । तर, सुरक्षा संवेदनशीलता र स्तरीयताको कोणबाट हेर्ने हो भने वार्षिक अढाई करोड बढी खर्च हुनु उति अस्वाभाविक देखिएन ।

हिमालयन कुनै पनि हालतमा आफ्नै आइटी निरन्तर होस् भन्ने पक्षमा छ भने इन्भेस्टमेन्ट कुनै पनि हालतमा हिमालयनको आइटीमा इन्टीग्रेड तयार छैन ।

यो विषयमा हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकका सञ्चालक र उच्च व्यवस्थापनका अधिकारीहरूबिच चर्काचर्की समेत परिसकेको छ । इन्भेस्टमेन्ट बैंकका सञ्चालकले ‘तपाईँहरूको आइटी महँगो छ’ भन्दा हिमालयन बैंकका सञ्चालकले भने ‘तपाईँहरूले पनि दरबारमार्ग शाखा चलाउने नाममा वार्षिक ६ करोड स्वाहा पार्नुभएको छ नि भन्ने गरेका छन् ।

एकअर्काका कमजोरी खोतल्दै आरोप प्रत्यारोपमा उत्रिने अवस्था बनेसँगै दुवै बैंकका सञ्चालकले कथम कदाचित मर्जर नभए कस्तो कानुनी कारबाही भोग्नुपर्ने हुन्छ भन्नेसम्मको तयारी गरेका भेटिएको छ ।
कानुनी रूपमा मर्जर भाँडिए पनि राष्ट्रबैंकले गर्नसक्ने कारबाही केही पनि रहेनछ । इन्भेस्टमेन्ट बैंकका एक सञ्चालकले भने–‘हाम्रो पछिल्लो निष्कर्ष मर्जर भाँडिए पनि केही फरक पर्दैन भन्ने हो । राष्ट्रबैंकले ठुलै कारबाही गर्न सक्दैन भन्ने पनि हो ।

यसरी राष्ट्रबैंकले बेलैमा हस्तक्षेप नगर्ने हो भने हिमालयन–इन्भेस्टमेन्ट बैंकबीचको मर्जर भाँडिने सम्भावना बढेको छ । यी दुई बैंकको मर्जर सफल भए अन्य बैंकबीच पनि मर्जर सुरु हुने, असफल भए मर्जरमा जाने मानसिकतामा रहेका बैंकहरु पनि पछाडि हट्नसक्ने सम्भावना देखिन्छ । यस्तो भयो भने राष्ट्रबैंकले लिएको बैंकको संख्या घटाउने नीति असफल बन्नसक्छ ।

तपाईको प्रतिक्रिया