बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि बर्खास्त गरिएको जनाइएको छ ।
भ्रष्टाचार गरेको पुष्टि भएपछि अधिकारीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी मन्त्रालयले बर्खास्त गरेको हो ।

फार्मेसी अधिकृत सातौँ तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोजको परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी २०७१ सालमा पक्राउमा परेको थिए ।

अधिकारी र सवारी चालक मनोज महर्जनसमेतले सेवाग्राहीसँग औषधि पसल अनुगमन गरी विभिन्न नमिलेका कुराहरू मिलाइदिन्छु भन्दै १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा विभाग परिसरबाटै पक्राउ गरेको थियो। विशेष अदालतले अधिकारीले भ्रष्टाचार गरेको ठहर गरेको थियो।

तपाईको प्रतिक्रिया