बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नाडा अटोमोबाइल्स एसोसिएसनले फागुनमा अटो शो गर्ने भएको छ । कोभिड महामारीको कारण सन् २०२० र २०२१ मा आयोजना हुन नसकेको नाडाले फागुनमा अटो शो गर्ने भएको जनाइएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले फागुन ९ देखि १४ गतेसम्म हुने जानकारी दिएका हुन् ।

जानकी अटोमोबाइल एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभामा बोल्दै काठमाडौँको भृकुटीमण्डपमा अटो शो सञ्चालन हुने बताएका हुन् ।

‘यो नाडाको सिग्नेचर शो हामीले २ वर्षसम्म गर्न सकेका थिएनौँ । मान्छेहरूलाई अटो शो को बानी लागिसकेको छ । यो बिचमा नयाँ–नयाँ प्रोडक्ट पनि आएका छन् । त्यही प्रदर्शन गर्न फागुनमा अटो शो गर्न लागेका हौँ । अरू बेलामा दसैँको अगाडि हुने नाडा अटो शो यसपालि भने कोभिड १९ का कारण फागुनमा गर्न लागिएको स्पष्ट पारे ।

अध्यक्ष दुलालले काठमाडौँ बाहिर संस्थागत सदस्य अर्थात् प्रदेशले सञ्चालन गर्ने अटो शोलाई नाडाले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

उनले अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजस्व प्रदान गर्ने क्षेत्र रहेको बताउँदै अध्यक्ष दुलालले सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए ।
कोरोना महामारीबाट बच्न निजी सवारी साधनको प्रयोग र खरिद तथा बिक्री बढेसँगै यस क्षेत्रबाट राजश्वमा योगदान पनि बढेको दुलालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया