बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

राष्ट्र बैंकले निक्षेपको ब्याजमा अंकुश लगाउने संकेत दिएको छ । राष्ट्र बैंकले निक्षेपको ब्याजदर घटाएको छ । कर्जाको ब्याजदर पनि नबढाउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिसकेका छन् । यसले गर्दा पनि बजारमा सुधारको संकेत देखिएको एक शेयर विश्लेषकले बताए ।

‘कर्जाको ब्याजदर अचाक्ली बढ्ने हल्ला बजारमा आएको थियो, बजारमा हल्ला आएजस्तो कर्जाको ब्याजदर नबढ्ने संकेत देखिएकाले पनि शेयर बजारमा सुधार देखिएको हो,’ ती शेयर विश्लेषकले भने, ‘शेयर धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको नबढ्ने भएकाले पनि बजार पुनः उकालो लागेको छ ।’
त्यस्तै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र तीन वित्तीय संस्थाबाट बढीमा १२ करोडसम्म ऋण लिन पाउने नीति र सिडी रेसियो परिवर्तन गर्ने संकेत दिएपछि शेयर बजारमा सुधार देखिएको छ ।

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार ४÷१२ र सिडी रेसियो परिवर्तन हुने संकेत बजारमा आएपछि नेप्सेमा करिब २८ अंकले सुधार आएको हो ।

कर्जाको ब्याजदर बढ्ने त्रासमा रहेका लगानीकर्ताहरू निक्षेपको ब्याजदर एकल अंक (१० प्रतिशत) मा सीमित राख्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएपछि उत्साहित भएका हुन् । बैंकले ब्याजदरको कोरिडोर पनि निर्धारण गरिदिएको छ, त्यसले गर्दा पनि लगानीकर्ता उत्साहित भएको लगानीकर्ताहरूको छाता संगठन नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले बताए ।

‘४÷१२ र सिडी रेसियो पनि परिवर्तन गर्छ कि भन्ने समाचार आएकोले बजार अलिकति पोजेटिभ भएको हो,’ उनले भने, ‘बजार धेरै घटिसकेकोले आज अलिकति बजार हरियो देख्न पाइएको हो ।’

३ हजार २ सय नजिक पुगेको नेप्से ओरालो लागेर २ हजार ५ सय ५७ अंकमा आएको थियो । तर, साताको पहिलो दिन आज २७.५१ विन्दुले उकालो लाग्न पुग्यो । यसबिचमा करिब साढे ६ सय अंकले घटिसकेको छ ।
केन्द्रीय बैंकले ‘४÷१२ र सिडी रेसियो पनि परिवर्तन नगरेपनि बजार धेरै घट्ने सम्भावना नदेखिएको लम्सालले बताए । ‘मलाई लाग्छ, बजार घटिसकेको अवस्था छ । लगानीकर्ताले धेरै घटेर बिक्री गर्न चाहेनन् उनले भने, ‘धेरै घट्यो भने पनि २०÷४० अंक घट्ने हो ।

बढ्ने पनि यस्तै यस्तै हो । धेरै बढ्ने सम्भावना पनि देखिदैन्, घटेर जाने पनि देखिदैन् ।’
बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । केही वित्तीय संस्थाले त पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कम्पनीहरूको पहिलो त्रैमासिक वित्तीय विवरण लगानीकर्ताले पर्खन थालेका छन् । ‘इन्साइडर इन्फरमेसन’ कतैबाट लिन सकिन्छ भन्दै पनि आइरहेका छन् ।
लगानीकर्ता वित्तीय विवरणको पर्खाइमा रहेको पनि लम्सालले बताए । धेरै घटेको कारण लगानीकर्ता बिक्री गर्न भन्दा पनि वर्षभरिको लगानीको प्रतिफल बोनस खाने मनस्थितमा छन्,’ उनले भने, ‘राष्ट्र बैकबाट केही आशा लगानीकर्तामा भएको र ‘सप्लाई’ पनि कम भएकाले बजार बढेको हो ।’

तपाईको प्रतिक्रिया