बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

विश्व जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलता प्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए ।

उनले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गरे ।
नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको पनि उनले जानकारी दिए ।


सोही कार्यक्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच वार्ता भएको थियो । मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

देउवा र भारतीय समकक्षी मोदी

देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबिच जम्काभेट भएको थियो ।

आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड–१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । दुवै नेताले महामारी विरुद्ध मिलेर काम गर्ने संकल्प गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुवै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यस लगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया