शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएसँगै नेपालमा निर्माण सामग्रीमा प्रयोग हुने सिमेन्ट, छड तथा इँटामा ठुलो प्रभाव पर्न थालेको छ । कोइलाको अभावको कारण देखाउँदै केही सिमेन्ट उद्योगहरूले मूल्य बढाउन थालेका छन् ।

कोइलाको अभाव बढ्दै जाने हो भने सिमेन्टको मूल्यमा ठुलै वृद्धि हुने जगदम्बा सिमेन्ट उद्योग सम्बन्ध बिक्री अधिकृत बताउँछन् । कोइलाको अभाव र अस्वस्थ प्रतिस्पर्धाले नेपालका सिमेन्ट उद्योगमा मूल्यमा असर पर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

महाभूकम्प पछि सामान्यरुपमा तङ्ग्रिँदै गरेको सिमेन्ट उद्योगमा अहिले भने केही अप्ठ्यारो परिस्थिति छ । भूकम्प लगतै सबैले आफ्नो आवास बलियोसँग बनाउनु पर्छ भन्ने अनुभूति भयो । सरकारले पनि ठुला ठुला परियोजना निर्माणका लागि घोषणा पनि ग¥यो ।

सरकारको अनुदानमा विभिन्न आवास क्षेत्रहरू बने पनि गत दुई वर्षदेखि त्यो गति समात्न खोजिरहेको सिमेन्ट उद्योग फेरि सङ्कटमा पर्ने गएको छ । कोरोना पछि त आवास भन्दा पनि कसरी बाँच्ने भन्ने सबैको ध्यान त्यतातिर केन्द्रित भयो ।

महामारी सुरु भए लगतै सरकारले सम्पूर्ण क्षेत्र बन्द भएको थियो । सो बेला सबै उत्पादनहरू बन्द भएको थियो । बिस्तारै महामारी रोकथामको बन्दाबन्दी सहज हुँदै गएपछि सरकारले सार्वजनिक गरेको महामारीको आचारसंहिता पालना हुँदै उद्योगी क्रियाकलाप सुचारु हुँदै गएको छ ।

महामारीको सङ्कट अझै नसकिएको हुनाले अहिले पनि कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरू प्रत्येक कम्पनीले उपलब्ध गराइरहेको छ ।

आन्तरिक बजारको माग भन्दा सप्लाइ बढी हुने गरी सिमेन्ट उद्योगहरू खुल्दै गएका छन् । यसले बजारमा पार्ने प्रभाव मध्ये उद्योगहरू जति धेरै भए त्यति नै खरो प्रतिस्पर्धा हुनु स्वाभाविक हो । चाहे त्यो स्वदेशी लगानीको उद्योग होस् चाहे विदेशी लगानीको नै होस् ।

नेपाल सरकारले पनि पक्कै सोचेको होला स्वदेशी लगानीका उद्योगको संरक्षण र विदेशी लगानीका उद्योगहरूलाई व्यवस्थापन । विदेशी लगानीका उद्योगलाई मात्रै लगानी गर्न दिने हो भने स्वदेशी लगानीका उद्योगहरूको लगानी के गर्ने यसतर्फ पनि सरकारले सोच्नु पर्ने हुन्छ ।

स्वदेशी उद्योगहरूको लगानी पनि सुरक्षित हुने र विदेशी लगानी ल्याएर देशमा औद्योगिक क्षेत्रको विकास हुने गरी राज्यले नीति ल्याउनु पर्दछ । अहिले पनि केही विदेशी लगानीका ठुला सिमेन्ट उद्योगहरू आउने तरखरमा रहेको बुझिएको छ ।

अहिले भइरहेका उद्योगहरू नै नेपालको बजारमा बढी भइसकेकोले थप विदेशी उद्योग खोल्न दिनु कतिको जायज नहुने हो । अहिले सिमेन्ट उद्योगमा डिमान्ड र सप्लाईको मेल नभएको अवस्था हो । सप्लाई धेरै भएका कारण सिमेन्ट उद्योगहरूको उत्पादन बिक्री नभइरहेको अवस्था छ ।

बजारको यस्तो अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि उद्योगलाई फाइदा भने पुगेको छैन । नेपालमा ठूूला परियोजनाहरूको निर्माण नभएका कारण सिमेन्टको माग नै छैन । ठुलो माग नै नभएपछि उद्योगहरूले उत्पादन गरेको सिमेन्ट घाटामै भए पनि बेच्नु पर्ने बाध्यता छ ।

देशमा ठुला ठुला परियोजनाहरू धमाधम निर्माण हुन थाले भने मात्रै नेपालको सिमेन्ट उद्योगको स्थायित्व हुन्छ । नभए अस्वस्थ प्रतिस्पर्धाका कारण सिमेन्ट उद्योगहरू नै आफै सङ्कटमा पर्न सक्ने अवस्था हुन्छ । यस्तो स्थिति लामो समयसम्म रहिरह्यो भने स्वदेशी तथा विदेशी उद्योगीको ठुलो लगानी जोखिममा पनि पर्न सक्छ । त्यसतर्फ राज्यले बेलैमा सोच्नु पर्ने हुन्छ ।

यसको विकल्प भनेको पहिलो कुरा त आन्तरिक खपत बढाउनलाई सरकारी नीति ल्याउनु जरुरी छ । अहिले उत्पादन गरिरहेका सिमेन्ट उद्योगहरूको उत्पादन निजी घरहरू निर्माणकर्ताहरुले मात्रै प्रयोग गरिरहेका छन् । यति धेरै उद्योगहरूको उत्पादन निजी आवासहरूको निर्माणमा मात्रै प्रयोग गरेर पुग्दैन ।
त्यसैले ठुला परियोजना नबनिकिन सिमेन्टको खपत बढाउन सकिँदैन । सिमेन्ट प्रयोगका क्षेत्रहरू विस्तार हुन जरुरी छ ।

नेपाल जस्तो भौगोलिक बनोट भएको क्षेत्रमा सडक निर्माण गर्दा ढलानको प्रयोग गरियो भने सिमेन्टको खपत पनि बढ्ने र सडक पनि बलियो हुन्छ । यसको चर्चा धेरै अगाडीदेखि चले पनि व्यवहारमा भने लागू हुन सकेको छैन । यसरी सडक बनाउँदा बलियो मात्र हुने होइन स्वदेशी उत्पादनबाट बन्ने भएकोले स्वदेशी उद्योगलाई सहयोग त पुग्छ नै साथै विदेशबाट यसको लागि कच्चा पदार्थ मगाउनु पर्ने अवस्था पनि अन्त्य हुन्छ ।

नेपालको सिमेन्ट विदेश निर्यात गर्नका लागि भने पूर्वाधारको जरुरी हुन्छ । त्यो पूर्वाधार बनिसकेको छैन । विदेशमा सिमेन्ट निर्यात गर्दा लाग्ने लागत घटाउनलाई मालबहाक रेल तथा ठुलो परिमाणमा ढुवानी गर्न सक्ने सवारी साधनको विकास हुनुपर्छ । अनि मात्रै हामीले निर्यात गर्ने सिमेन्टको मूल्य अन्य देशको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छ ।

हामीले सिमेन्ट निर्यात गर्ने भनेको हाम्रा छिमेकी मुलुक भारत र चीनमा हो । चीनतर्फ तत्कालै हामीले नेपालमा उत्पादन भएको सिमेन्ट निर्यात गर्न सक्ने पूर्वाधार नै बनेको छैन । भारत तर्फको निर्यातमा ट्रकबाट सिमेन्ट बोकेर भारतसम्म पुर्‍याएर हाम्रो सिमेन्ट त्यहाँ बेच्न सकिने अवस्था पनि छैन । केही समय अघि जगदम्बा सिमेन्ट लगायत अन्य सिमेन्ट कम्पनीहरूले भारतमा ट्रक मार्फत सिमेन्ट बोकाएर निर्यात गर्ने प्रयास गरे ।

तर, उक्त प्रयास त्यहाँको सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि विफल भएको थियो । तत्कालका लागि नेपालबाट अन्य देशमा सिमेन्ट निर्यात गर्न सक्ने सम्भावना छैन । तर, भविष्यमा भने नेपालको सिमेन्ट छिमेकी देशहरूमा लगेर बेच्न सकिने भने प्रचुर सम्भावना छ ।

सिमेन्ट निर्यातको लागि ग्रेडिङको आवश्यकता पर्दछ छ । नेपाल नापतौल तथा गुणस्तर विभागले सिमेन्टका लागि निर्धारण गरेका गुणस्तरको मापन गर्ने एउटा विधि हो । यसमा ओपीसी र पिपिसी दुवै सिमेन्टमा गुणस्तर मापन गरेर ग्रेडिङ छुटाइन्छ ।

नेपाल सरकारले केही समयअघि देखि ओपीसी सिमेन्टको ग्रेड न्यूनतम ४३ हुनुपर्ने र पीपीसीको न्यूनतम ५३ ग्रेड हुनुपर्ने मापदण्ड बनाएको छ । सरकारले सिमेन्टको न्यूनतम गुणस्तर ४३ र ५३ ग्रेड हुनुपर्ने बनाएपछि सबैजसो उद्योगहरूले यो ग्रेड लिनका लागि आवेदन दिएका छन् । धेरैजसो सिमेन्ट उद्योगहरूले यो ग्रेड पाइसकेको अवस्था पनि छ ।

प्राविधिकरुपमा ४३ ग्रेडको सिमेन्ट र ५३ ग्रेडको सिमेन्ट कहाँ कहाँ प्रयोग गर्ने भन्ने चाहिँ प्रमुख कुरा हो । र, अहिले आम उपभोक्ताका बिचमा पनि यो विषय सबैभन्दा बढी चासो भएको विषय पनि हो । पहिला त पूर्वाधार निर्माण गर्ने व्यक्ति तथा संस्थाले निक्र्यौल गर्नु पर्ने हुन्छ । पूर्वाधार अनुसार त्यसमा प्रयोग हुने सिमेन्टको स्तरमा फरक पर्दछ ।

उपभोक्ताले बनाउने पूर्वाधार ढलान, प्लास्टरको समय अवधिले पनि कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने हो भन्ने निर्धारण गर्छ । यदि पूर्वाधार निर्माण गर्न लामो समय छ भने त्यस्ता पूर्वाधारको लागि ४३ ग्रेडको सिमेन्ट प्रयोग गर्न ठिक हुन्छ । जस्तै: ढलान गरिसके पछि उक्त ढलानमा ४३ ग्रेडको सिमेन्ट प्रयोग गरिएको छ भने उक्त ढलान मजबुत हुन लामो समय लाग्ने गर्छ ।

कुन सिमेन्ट कस्तो ठाउँमा प्रयोग गर्ने भन्ने विषयको छनौट आफूले बनाउन लागेको पूर्वाधार आवासीय हो की व्यवसायीक हो त्यसमा पनि निर्भर हुन्छ । साथै इन्जिनियरहरूको सल्लाहमा पनि भर पर्छ । उनीहरूले कुन संरचनाको लागि कुन सिमेन्ट ठिक हो भन्ने प्रायः सल्लाह दिन्छन् । सामान्य आवासीय घरहरूको लागि ४३ ग्रेडको सिमेन्ट प्रयोग गरिएको पाइन्छ भने ठुला ठुला परियोजनामा ५३ ग्रेडको सिमेन्ट प्रयोग गरिएको पाइन्छ ।
कतिपय स्थानमा धेरै चाँडै मजबुत हुने सिमेन्टहरू पनि प्रयोग गरेको पाइन्छ । जुन अहिले नेपालमा पाइँदैन ।

नेपालमा हाल पिईसी सिमेन्ट पनि उत्पादन सुरु भएको छ । जसलाई ब्यालेन्ट सिमेन्ट भनिन्छ । पिपिसी सिमेन्ट र पिईसी सिमेन्ट दुवै ब्यालेन्ट सिमेन्ट हो । पिपिसी सिमेन्ट प्रयोग गर्ने ठाउँमा नै प्राय जसो पिईसी सिमेन्टहरू प्रयोग हुने गर्दछ । जहाँ क्राक बढी हुन्छ, त्यो ठाउँमा पिईसी सिमेन्ट प्रयोग गर्ने हो भने क्राक कम हुने सम्भावना हुन्छ । साधरणतया यो सिमेन्ट जोडाई, प्लास्टरहरूमा बढी प्रयोग गरिन्छ ।
त्यस्तै सानो खालको संरचना छ भने त्यस्तोको ढलाईमा पनि प्रयोग हुने गर्दछ । जहाँ पानीको केही अभाव छ भने त्यस्तो ठाउँमा पिईसी सिमेन्ट प्रयोग गर्ने गरिन्छ । बजारमा पिपिसी र पिईसी सिमेन्टको समान मूल्य छ ।

पिईसी सिमेन्टलाई बनाउने कच्चा पदार्थलाई व्यवस्थापन गर्न अलिकति चुनौती पनि छ । त्यसले गर्दा पनि अरू उद्योगपतिहरूको चासो कम भएको हुन सक्छ । ९, १० वर्ष अगाडी पिईसी सिमेन्टको बारेमा बुझाउन अलि गारो थियो ।

मानिसहरूले प्रयोग गर्न चाहँदैन थिए । तर हामीले ग्राहकलाई बुझाउँदै गयौँ र आजको दिनमा पिईसी सिमेन्टको बिक्रीमा सुधार हुँदै गएको छ । हाल वीरगन्ज, नारायनघाट देखि पूर्वमा पुरै पिईसी सिमेन्ट बिक्री हुने गर्छ । काठमाडौँमा पिपिसी र पिईसी बराबर मात्रामा बिक्री हुने गर्दछ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कोइला अभाव छ । नेपालको सिमेन्ट उद्योगमा यसको प्रभाव पर्ने निश्चित छ । कोइलाको कारणले गर्दा निर्माण सामग्रीसँग प्रत्यक्ष सरोकार राख्ने उद्योगहरू सिमेन्ट, छड र इँटामा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ ।

अझै निकै ठुलो प्रभाव पर्ने स्थिति देखिने बजार विश्लेषक बताउंछन । आजको दिनमा भारतबाट नेपाल आउने कोइलाहरू सप्लाई कम भइरहेको छ । नेपालमा भएका क्लिंङ्कर उद्योगहरूले अहिलेसम्म पनि पर्याप्त मात्रामा कोइलाहरू पाइरहेका छैनन् ।

भारतमै यति ठुलो कोइलाको उपयोग छ की यो उनीहरूले पनि यहाँ दिन सक्ने अवस्था छैन । जसको असर छडमा पनि देखिएको छ । यसले गर्दा अहिले छडको मूल्य १० रुपैयाँसम्म वृद्धि भएको छ ।
इँटा उद्योगहरूले त कोइला नै नपाएको गुनासो गइरहेको छन् । उनीहरू अब कसरी इँटा बनाउने बनेर निराश बनेको स्थिति छ । सिमेन्टकै कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमै १५ देखि २२ प्रतिशतसम्मको मूल्यमा प्रत्यक्ष रूपमा वृद्धि भएको पाइन्छ ।

कोइलामा १०० रुपैयाँ देखि १२० रुपैयाँ प्रति बोराको प्रत्यक्ष रूपमा मूल्य वृद्धि भए पछि सिमेन्टको मूल्यमा प्रभाव पर्ने देखिन्छ । जुन आम उपभोक्ताको लगानीमा ठुलो वृद्धि हुनेछ । साधारण संरचना बनाउँदा एउटा घरको ५ देखि ७ लाखसम्म लगानी बढ्नेछ । यो सारै नै दुखदायी पक्ष हो ।

हामीसँग साधन स्रोत, आफ्नै कोइला उद्योग छैन जसले गर्दा बाध्य भएर स्विकार्नु परेको छ । विगत १५, २० दिन देखि आगामी कार्तिक मङ्सिरसम्ममा कम्तीमा पनि सिमेन्टमा १०० रुपैयाँसम्म मूल्य वृद्धि हुने अवस्था देखिएको छ ।

तपाईको प्रतिक्रिया