बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

पर्यटन क्षेत्रमा लामो समय देखी सक्रिय युवा व्यवसायी चन्द्र रिजाल एमाले उद्योगी व्यवसायी जिल्ला कमिटीको अध्यक्ष बनेका छन् । नेकपा एमालेको ८८ औँ जिल्ला कमिटीका रूपमा उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी गठन भएको छ । एमालेले भूगोलका ७७ जिल्ला बाहेक सातवटा प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटीको मान्यता दिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाभित्र पेसागत विशेष प्रदेश कमिटी अन्तर्गत मजदुर, युवा विद्यार्थी, बुद्धिजीवी र उद्योगी व्यवसायी जिल्ला कमिटी रहने निर्णय अनुसार कान्छो जिल्ला कमिटीका रूपमा उद्योग व्यवसाय क्षेत्रका एमाले सदस्यहरूले मान्यता पाएका हुन् ।

काठमाडौँ उपत्यकाभित्र उद्योग व्यवसाय र र व्यापार गरेर बस्ने पार्टी सदस्यहरूको भेलाबाट पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका चन्द्र रिजालको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

कमिटीको सचिवमा गोविन्द घिमिरे छन् भने अन्य पदाधिकारी अधिवेशनबाट चयन हुने बताइएको छ । उद्योगी व्यवसायी जिल्ला कमिटीमा १२ सय सदस्य रहेकाले दसौँ राष्ट्रिय महाधिवेशनमा एक महिला सहित ३ जना प्रतिनिधि चयन हुने रिजालले बताए ।

नव गठित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई पेसागत विशेष प्रदेश कमिटी अध्यक्ष सुजिता शाक्यले शपथग्रहण गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया