बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

ईश्वर गुरुङ
सचिव, नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा)

नेपालको निर्यात वाणिज्य प्रति वर्ष घट्दो क्रममा देखिन थालेको छ । निर्यात योग्य उत्पादनको उच्च लागतले अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिशपर्थी हुन नसकेपछि त्यसको प्रत्यक्ष असर हवाई फ्रेट व्यवसाय तथा निर्यात उद्योगमा देखिन थालेको छ ।

उता सरकारको प्रमुख आम्दानीको श्रोत बन्न सफल त्रि.बि भन्सारको पट्यार लाग्दो गोदाम व्यवस्थापनले यस क्षेत्रका व्यवसायीले थप हैरानी खेप्न बाध्य हुनु परेको छ । निर्यातका सामान राख्ने गोदाममा यो वर्ष पानीले भिजेर ती सामाग्री बिग्रिएकोले त्यसको जिम्मेवारी सरकार आफैले लिनु बाहेकको विकल्प छैन ।

विगत वर्ष देखी कोभिड महामारीले निर्यात व्यवसायसँग आबद्ध मजदुर तथा उत्पादनकर्ता उच्च सख्ंयामा पलायन हुन थालका छन् । यसैबिच त्रि.बि गोदामको छानाबाट पानी चुहिने पुरानै रोगसँगै यस वर्ष अत्यधिक वर्षाका कारण गोदाम भित्र पानी पसेर निर्यात योग्य करोडौंंका सामान बिग्रन पुगेका छन् ।

गोदाम व्यवस्थापनको लापरबाहीका कारण झमझम पानी परेकै दिन फ्रेट व्यवसायी तथा निर्यातकर्तालाई बिना सूचना छाना फेर्ने कोसिस गरियो । त्यही कारण करिब ५ लाख अमेरिकी डलर बराबरका सामान बिग्रिएको देखिएको छ । जसको जिम्मा सरकारको पारवहन तथा गोदाम व्यवस्थापनले लिनुपर्दछ ।

फ्रेट व्यवसायीले आफ्नो गोदाममा रहेका सामानको सुरक्षाको ग्यारेन्टी दिन सक्छ । तर भन्सार पास भइसकेर गोदाममा पुगेका सामानको जिम्मा सरकारको हो । नेपालबाट घरेलु उद्योगका सामान आयात गर्ने विदेशीले उत्पादन गरिएका सामानमा थोरै मात्र त्रुटि भेटिए अस्वीकार गर्दछन् ।

अझ यो त पर्‍यो भिजेका सामान । गोदामका कर्मचारीले सामान भिजेको थाहा पाएपछि निर्यातकर्ता वा फ्रेट व्यवसायीलाई खबर गर्नुको सट्टा आफ्नो गल्ती लुकाउन ती भिजेका सामान सहित हवाईजहाज मार्फत विदेश पुगेको समाचारले निर्यातकर्ता झन् मर्माहत भएका छन् ।

नेपाललाई अत्यधिक मनपराउने विदेशी आयातकर्ता सहित स्थानीय हस्तकलाका डिजाइनले लोभिने त्याहांका नागरिक नेपाली निर्यात सामानका प्रमुख उपभोक्ता हुन् । किनकि नेपाली सामान विदेशी स्तरीय नागरिककालागि उत्पादन हुने गर्दछ । ती खरिदकर्ता माझ त्रि.बि गोदामबाट बिग्रेका सामान हातमा पर्दा नेपाली सामानको छवि कस्तो रहन पुग्यो त्यो सजिलै अनुमान लगाउन सकिन्छ ।

यस घटनाबाट प्रत्यक्ष मारमा परेका निर्यातकर्ताहरू फ्रेट व्यवसायी समक्ष गुनासो गर्दछन् । एकातिर निर्यातका वस्तु पुग्ने गनतब्यका आयातकर्ता हैरान अर्कोतिर ती विदेशीले नेपालमा सामान फेरी अडर दिन तैयार हुनेमा शंका उत्पन्न भएको छ । गोदामको एक गल्तीले देशको छवि निर्यातकर्ताको साथै फ्रेट व्यवसायी सहित चौतर्फी असर पर्न गएको छ ।

गोदाम

चालु आ.ब मा सन २०२१ को सेप्टेम्बर सम्म १२ लाख ७९ हजार के.जी सामान हवाई पारवहन मार्फत निर्यात भएको नेपाल ट्रान्जिट तथा गोदाम व्यवस्थापन कम्पनीले लिमिटेडले जनाएको छ । खस्कीदैं गएको निर्यात उद्योगमा सरकारी लापरबाहीले यो क्षेत्र तहस नहस हुने स्थितिमा पुग्ने अवस्था आएको छ ।

यस विषयमा नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले सम्वधीत निकायसँग गरिएको पटक–पटकको छलफल निष्कर्ष हीन भएको छ । किनकि त्रि.बी र पारवहनले यस घटनाको दोषारोपण एक अर्का माथि गरिरहेका छन् । तर बिग्रेका सामानको क्षतिपूर्ति कुन निकायबाट पाइने हो त्यसको भने प्रस्ट जवाफ पाउन सकिएको छैन ।

कोभिडका कारण अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुन नसक्दा हवाई पारवहन चेपुवामा पर्दे आएको हो । न्यून सख्ंयामा आउने हवाई जहाजमा तेब्बर बढी भाडा तिरी निर्यातकर्ताका सामान गनतब्यमा पुर्‍याउन फ्रेट व्यवसायी बाध्य हुनु परेको छ । त्यसको बाबजुद भन्सार पास भएर गोदासम्म पुगिसकेका सामान बिग्रिएपछि निर्यातकर्ता निरीह हुन बन्नु परेको छ ।

नेपालमा हवाई कार्गो जहाज यस अघि लुफथान्साको आउने गर्दथ्यो त्यो जहाज दुर्घटनामा परेपछि अन्य वायुसेवाका कार्गो जहाज नेपाल आउन बन्द भएको हो । यसकारण यात्रु वाहक हवाई जहाज मार्फत कार्गो उडाउनु पर्ने भएको हो । यात्रु वाहक हवाई जहाजबाट निर्यातकर्तालाई दिइएको तालिका अनुसार सामान नउड्न पनि सक्छ । किनकि ती जहाजले पहिलो प्राथमिकतामा यात्रुका ब्यागेज,कूटनीतिक नियोगका सामान , एक्सप्रेस डकुमेन्ट तथा पार्सल राखेपछि मात्र बचेको ठांउमा व्यावसायिक कार्गो राख्ने गर्दछन् ।

नेपालका हवाई पारवहनमा आधारित कम्पनीहरूले कार्गो जहाज नेपाल ल्याउन नसक्नुको कारण हवाई जहाजको कार्गो बोक्ने क्षमता अनुसार उच्च परिमाणमा सामान उपलब्ध नहुनु प्रमुख हो ।

यसअघि नेपालबाट उच्च परिमाणमा गुट्खा निर्यातहुंदा कार्गो जहाज नेपाल आउने गरेको थियो । तर यसको लागि लाग्ने समपूर्ण खर्च अग्रिम भुक्तानी गर्नुपर्ने भएकोले यो अत्यन्त जोखिमपूर्ण हुने गर्दछ ।

नेपालका निर्यातका सामानका प्रत्येक गनतब्यसम्म सिधा हवाई सम्पर्क नभएकोले विभिन्न ट्रान्जिट हुँदै पुग्नुपर्ने हुन्छ । ती ट्रान्जिटबाट सामान बाहिरिन हवाई जहाजमा स्पेस पाउन हम्मे पर्दछ ।

कोभिड महामारीले उच्च प्रभावित भएको अमेरिकाले विश्वभरबाट उच्च फ्रेट शुल्क तिरी सामान आयात गरिरहेकोले समेत नेपाल जस्तो विकाशशील मुलुकहरूको लागि निर्यात तथा फ्रेट व्यवसाय फलामको चिउरा चपाउनु बराबर भएको छ । हिजो २० फुट कन्टेनर ५ हजार डलरमा पाइन्थ्यो । आज त्यसका लागि १२ हजार डलर मूल्य अग्रिम भुक्तानी गर्दा समेत पाउन मुस्किल पर्न थालेको छ ।

विश्वभरबाट निर्यात हुने सामानका कन्टेनर चीनले कब्जागरी अमेरिकातर्फ सामान पढाउन थालेपछि समस्या चर्किएको हो । हाल विश्व परिपेक्षमा हवाई फ्रेट शुल्क २५० प्रतिशत वृद्धि भएको छ , भने नेपालको सन्दर्भमा दोब्बर मात्र भएको हो । निर्यातका सामानमा हवाई फ्रेट समेतको मूल्यले गनतब्यमा नेपाली सामानको मूल्य पनि अकासिएको छ । यही बेलामा त्रि.बि विमानस्थलको गोदाम व्यवस्थापनको लापरबाहीबाट पुगेको क्षतिले निर्यातकर्ता तथा फ्रेट व्यवसायी मर्माहत बनेको हो ।

तपाईको प्रतिक्रिया