बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

ग्लोबल वार्मिङ र वातावरणीय प्रदूषण जस्ता चुनौतीसँग जुध्न विश्वका फोर्ड, मर्सिडीज बेन्ज, जनरल मोटर्स र भोल्भो लगायत करिब छ वटा प्रमुख कार निर्माता  कम्पनीले बुधवार एक महत्त्वपूर्ण निर्णय गरेका छन् । बेलायतको ग्लास्गोमा जारी कोप–२६ बैठकमा यी कम्पनीहरूले यो निर्णय गरेका हुन् । यो निर्णयलाई ग्लोबल वार्मिङ घटाउने सार्थक पहलका रूपमा हेरिएको छ । सम्मेलनमा सन् २०४० सम्ममा पेट्रोल–डिजेलबाट चल्ने कारको बिक्री क्रमशः बन्द गर्ने प्रस्ताव गरिएको थियो ।

३१ देशका सरकारले यस्ता कारको बिक्री क्रमशः बन्द गर्ने घोषणा पनि गरेका छन् । तर, टोयोटा, भक्सवाइगन र निसान–रेनो जस्ता ठुला कार निर्माता कम्पनीहरूले यस निर्णयलाई अस्वीकार गरेका थिए ।
वातावरण जोगाउन विगत दुई सातादेखि ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलन शुक्रवार समापन भएको थियो । यसअघि बुधवार जलवायु परिवर्तन अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायले मस्यौदा जारी गरेको थियो । यसमा सबै देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउने लक्ष्यमा पुनर्विचार गर्न अपिल गरिएको छ ।

जारी गरिएका कागजातहरू सम्झौताको प्रारम्भिक रूपरेखा हुन् । ग्लोबल क्लाइमेट समिटपछि करिब २०० देशले यसमा सहमति जनाउनुपर्छ । ग्लोबल वार्मिङ घटाउनका लागि देशहरूले कडा लक्ष्य तय गर्नुपर्ने बताएको छ । जनतालाई कोइला, तेल र ग्याँसजन्य वस्तुको प्रयोगलाई न्यूनीकरण गर्न प्रोत्साहन गर्नुपर्छ । यसो नगरेमा उनीहरूलाई दिइने अनुदान खारेजमा पर्छ ।

यस शिखर सम्मेलनले पुरानो लक्ष्यको बारेमा पनि कुरा गरेको थियो जुन तापमान १.५ डिग्री सेल्सियस (२.७ फरेनहाइट) घटाउने तय गरिएको थियो । वैज्ञानिकहरूका अनुसार बढ्दो गर्मीले जङ्गलमा आगजनी, बाढी र खडेरी जस्ता घटनाहरूमा वृद्धि हुँदै गएका छन् । पृथ्वीको तापक्रम यसअघि १.१ डिग्री सेल्सियसले बढिसकेको छ ।

तपाईको प्रतिक्रिया