शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

कोरोनाका कारण विगतका वर्षमा रोकिएको क्यान इन्फोटेक यही माघ १८ देखि २३ गतेसम्म आयोजना गरिने क्यन महासंघले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले इन्फोटेकको २७ औँ संस्करण मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म यथास्थान काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने जनाएको छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेक आयोजनाको सुरुवात गरेको थियो । सन २०२० मा इन्फोटेकको २६ औँ संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुकको एक मात्र ठुलो प्रदर्शनी तथा व्यापार मेलाको २७ औँ संस्करण ६ दिन सम्म चल्ने बताइएको छ ।

प्रदर्शनीको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको बताइएको छ ।

यस बिचमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने महासंघको प्रयास रहने छ । महामारी तथा बन्दाबन्दीमा सूचना तथा सञ्चार प्रविधिले जनजीवनलाई सहज बनाउन सहयोग पुगेको सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको सबैमा महसुस भएको छ ।

इन्फोटेकको पूर्व–सन्ध्यामा क्यान महासंघले मंसिर ३ गते शुक्रवार काठमाण्डौमा सम्पन्न बीटुबी आइसिटी बिजनेश समिट – २०२१ मा देशभरका सूचना तथा सञ्चार–प्रविधि सम्बन्धी व्यवसायीहरू बिच जमघट, छलफल तथा इन्फोटेकको २७ औँ संस्करणको बारेमा चासो व्यक्त गरिएको थियो ।

क्यान इन्फोटेकको २७ औँ संस्करणको मिति घोषणासँगै यसको शीर्ष प्रायोजन ( Title Sponsor ), सह–प्रायोजन( Associate Sponsor ),प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला गरिएको बताइएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहँदै आएको छ । प्रदर्शनीमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास क्यान महासंघले लिएको छ ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न बिधाहरु रहने जनाइएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयर , नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेकट्रिकल तथा इलेकट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सिसिटिभी र हार्डडिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६ औँ संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यस पटकको संस्करणमा समेत अवलोकनकर्ता संख्यामा उच्च वृद्धि हुने अपेक्षा क्यान महासंघले गरेको छ ।

तपाईको प्रतिक्रिया