शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

छिमेकी देश श्रीलंका २०२२ मै टाट पल्टिन सक्ने त्रास वढनुमा पछिल्लो समय आर्थिक र मानवीय संकटसँग जुधिरहेको छ । अत्यधिक महँगीले रेकर्ड तोडेको छ । दैनिक उपभोग्य सामानहरू आम नागरिकको पहुँचबाट बाहिर पुग्न थालेको जनाइएको छ । उता राज्यकोष लगभग खाली हुन थालेको छ । सन् २०२२ मा श्रीलंका टाट पल्टिएको घोषणा भएमा आश्चर्य नहुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।

कोभिड महामारीले पर्यटन उद्योग ठप्प हुनु, बढ्दो सरकारी खर्च र करमा कटौतीका कारण सरकारी राज्यकोष खाली भएको छ । यसका साथै उसको ऋण बढेको छ र ऋणको भुक्तानीको दबाब बढेको छ । विदेशी मुद्राको भण्डार ऐतिहासिक रूपले सबैभन्दा तल्लो स्तरमा छ । श्रीलंका सरकारको नेतृत्व राजापाक्षे परिवारको हातमा छ । राष्ट्रपति गोटाबाया राजापाक्षेका आफ्नै दाजु महिन्दा राजापाक्षे प्रधानमन्त्री छन् ।

विश्व बैंकको अनुमान अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म करिब ५ लाख जनता गरिबीको रेखामुनि पुगी सकेका छन् । नोभेम्बरमा महँगी दर रेकर्ड ११.१ प्रतिशतमा पुगेको थियो । डिसेम्बरमा खानपिनका सामान २२.१ प्रतिशत महंगा भएका छन् । श्रीलंका अहिले दैनिक उपभोग्य सामानको अभावसँग जुधिरहेको छ । आयात गरी दैनिक उपभोग्य सामानको आपूर्ति हुन समेत पैसाको अभाव छ ।

राजापाक्षे सरकारले आर्थिक आपत्कालीन स्थितिको घोषणा गत वर्ष नै गरिसकेको थियो । सेनालाई अत्यावश्यक सामानको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो । त्यहाँ चिनी र चामलको लागि सरकारी मूल्य निर्धारण गरिएको थियो । यसबाट पनि मानिसहरूको समस्या कम भएनन् ।

विदेशी प्रख्यात अखबारसँग कुरा गर्दै श्रीलंकाको राजधानी कोलम्बोका एक ट्याक्सी ड्राइभर अनुरुद्दा परानागमाले गाडीको ऋण तिर्नको लागि ट्याक्सी चलाउने बाहेक अरू काम पनि गरिरहेको भएपनि अझै पैसा अपर्याप्त हुँदै गएको बताए । उनले भने ‘मेरो लागि गाडीको ऋण तिर्नु निकै कठिन छ । बिजुली, पानी, खानपिनको खर्चपछि गाडीको पैसा तिर्नको लागि केही बाँकी रहँदैन । मेरो परिवारले ३ समयको सट्टा २ समय मात्रै खाना खान्छौ ।’

श्रीलंकामा हाल १ किलो पाउडर दूधको प्याकेट खोलेर १००–१०० ग्रामका साना प्याकेट बनाइन्छन् किनकि मानिसहरू १ किलोको प्याकेट किन्न सक्दैनन् । अहिले त्यांहा जनता १०० ग्राम गेडागुडी भन्दा धेरै किन्न सक्ने अवस्थामा छैन ।

पर्यटनबाट श्रीलंकामा विदेशी मुद्रा आउँथ्यो र जनताले रोजगारी पनि पाउँथे तर कोभिड महामारीले पर्यटन उद्योग ध्वस्त पारेको छ । वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार श्रीलंकामा २ लाखभन्दा धेरै जनताले पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका छन् श्रीलंकाका स्थानीय अखबारको रिपोर्टअनुसार श्रीलंकाको पासपोर्ट कार्यालयमा लामो लाइन लागेको छ । यहाँका पढेलेखेका युवाहरू हरेक ४ जनामध्ये १ जना देश छोड्न चाहन्छन् ।

त्यांहाका केन्द्रीय बैंकका पूर्व उपगभर्नर डब्लुए विजेवर्दनाले आम मानिसको टकरावले आर्थिक संकट अझै गहिरिने चेतावनी दिएका छन् । उनले भने ‘जब आर्थिक संकट नियन्त्रणबाहिर जानेछ त्यसपछि स्थिति अझै खराब हुनेछ । खाद्य संकट पनि बढ्ने आशंका छ किनकि उत्पादन कम भइरहेको छ र आयातको लागि पैसा छैन । यस्तो स्थितिमा मानवीय संकटबाट बच्नु मुस्किल हुनेछ ।’

श्रीलंकाको अर्थव्यवस्थाको सबैभन्दा ठुलो समस्या उच्च विदेशी ऋण हो । श्रीलंकामाथि चीनको ५ अर्ब डलर भन्दा धेरै ऋण छ । गत वर्ष श्रीलंकाले आर्थिक संकटबाट बच्नको लागि एक अर्ब डलरको थप ऋण लिएको थियो । अब यो ऋण तिर्नुपर्ने बेला भएको छ । एक अनुमान अनुसार आगामी १२ महिनामा श्रीलंका सरकार र त्यहाँको निजी क्षेत्रले घरेलु र विदेशी ऋणको रूपमा ७.३ अर्ब डलर भुक्तानी गर्नुपर्नेछ । यो मध्ये ५० करोड डलरको अन्तर्राष्ट्रिय सोभरेन बोन्ड पनि छ । यसको भुक्तानी जनवरीमै गर्नुपर्नेछ । अर्कोतर्फ गएको नोभेम्बरसम्म श्रीलंकासँग विदेशी मुद्रा भण्डार भने १.६ अर्ब डलर मात्रै बाँकी थियो ।

राजापाक्षे सरकारका मन्त्री रमेश पाथिरानाले इरानलाई तेल आयातको उधारो तिर्न पैसाको सट्टा चिया निर्यात गर्ने प्रयास भइरहेको बताएका छन् । उनका अनुसार श्रीलंकाले इरानलाई तेलको बदलामा हरेक महिना ५० लाख डलरको चिया पठाउने बताए । यसबाट विदेशी मुद्राको कमी पूरा गर्न सहयोग मिल्ने उनले बताए ।

श्रीलंकाका विपक्षी सांसद र अर्थशास्त्री हर्ष डिसिल्भाले हालै संसदमा भनेका थिए ‘यस वर्ष जनवरीमा श्रीलंकासँग कूल विदेशी मुद्रा माइनस ४३.७ करोड डलर हुनेछ जबकि फेब्रुअरीमा ऋण तिर्नको लागि ४.८ अर्ब डलर आवश्यक हुनेछ । यस्तोमा श्रीलंका पूर्ण रूपमा टाट पल्टिनेछ ।’ केन्द्रीय बैंकका गभर्नर अजिथ निर्वाद क्याबराले श्रीलंकाले बिस्तारै विदेशी ऋण तिर्ने आश्वासन दिएका छन् तर बैंकका पूर्व उपगभर्नर विजेवर्देनाका अनुसार श्रीलंका डिफल्टर हुने पूरा खतरा उच्च छ । यसो भए परिणाम निकै खराब हुनेछ ।

तपाईको प्रतिक्रिया