शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले साना पुँजी एकीकृत गरी ठुला जलविद्युत परियोजना सञ्चालनमा आउनु सकारात्मक सोच भएको बताएका छन् । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन सत्रमा डा. खतिवडाले सो यथार्थ व्यक्त गरेका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपिओ जारीगर्ने सो वार्षिक साधारण सभाले निर्णय गरेको छ ।

उक्त साधारण सभामा विशिष्ट अतिथि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य , प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ ,वित्तीय सल्लाहकार नारायण पौडेल, त्यस्तै सल्लाहकार गोपाल पोखरेल,वासुदेव अधिकारी,सोसल डाइरेक्टर बोम बहादुर गुरुङ, एचआइडिसिएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानीकर्ता शाईन रेशुङ्गा बैंकका अध्यक्ष थानेश्वर पौडेल ,सञ्चालकहरू दुर्गा सुवेदी, बिनोद ज्ञवाली, भिजन लुम्बिनीको तर्फबाट कुलबहादुर केसी, सन्तोष पोखरेल ,कम्पनी सचिव मीन प्रसाद ज्ञवाली लगायतले भनाई राखेका थिए ।

लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धन गरेको हो । विसं २०७७ साउनदेखी २७ महिना भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत् उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ्रेको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपलाइन मार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालिने छ । पाइप मार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिई विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

भिजन लुम्बिनी ऊर्जाको निर्माणाधीन परियोजना

उत्पादित विद्युत् चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने छ । यस परियोजनामा रु पाँच अर्ब लगानी रहेकोमा रु. तीन अर्ब ५० करोड सहवित्तियकरण भई लगानी गर्ने भएका छन् । बैँक वित्तीय समूहसँग लगानी सम्बन्धी सम्झौता यस अघि नै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इन्जिनियरी लेखनाथ पाण्डेले बताएका छन् ।

बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयवासीबाट लगानी स्रोत जुटाइने छ । उनका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी उत्साहित भई त्यस क्षेत्रका ६०० जनाले आयोजनामा लगानी गरिसकेका छन् । जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेस गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिए ।

आयोजनाले उत्पादन गरेको विद्युत् वर्खायामको छ महिनासम्म चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ ।

 

तपाईको प्रतिक्रिया