आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

भारतले रुससँग सस्तोमा कच्चा तेल किन्नका लागि प्रस्ताव पठाएको छ । दुई देशबिचको उच्चस्तरीय वार्तामा भारतले रुससँगको तेल खरिदका लागि वित्तीय सहायताको माग गरिरहेको छ । भारतले डेलीभरको आधारमा प्रतिब्यारेल ७० अमेरिकी डलर भन्दा कममा आपूर्ति गर्न रुसी तेल प्रशोधन गर्ने कम्पनीहरू तयार रहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । हाल ग्लोबल बेन्चमार्कमा ब्रेन्ट कच्चा तेलको मूल्य हाल प्रतिब्यारेल १०८ अमेरिकी डलर नजिक पुगेको छ । भारतले किन्ने कच्चा तेलको मूल्यले नेपालको मूल्यलाई समेत प्रभाव पार्ने सम्भावना रहेको छ ।

विश्वको तेस्रो ठुलो तेल आयातकर्ता भारतले सरकार र निजी रिफाइनरीहरू मार्फत फेब्रुअरीको अन्त्यदेखि हालसम्म ४ करोड ब्यारेल भन्दा बढी रुसी कच्चा तेल किनिसकेको जनाइएको छ । उता सरकारी तथ्यांकलाई उद्धृत गर्दै ब्लुमबर्गका अनुसार भारतले रुसबाट किनेको यो तेल सन् २०२१ मा किनेको सम्पूर्ण परिमाणको तुलनामा २० प्रतिशत उच्च हो । तर भारतमा रुसी तेलको आयात सहज हुन सकेको छैन किनकि समुन्द्री बिमा, अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिकाले प्रत्यक्ष रूपमा भारतलाई रुसबाट तेल नकिन्न दबाब दिँदै आएकोले भारतलाई रुसबाट तेल खरिदमा चुनौती थपिएको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारी छुटमा तेल पाउने अवसर भएकाले मस्कोसँगको वार्तालाई कायम गर्न चाहेका भारतीय समाचार एजेन्सीले जनाएका छन् ।

रुसबाट हतियारको आयातमा पनि भारत धेरै हदसम्म निर्भर छ । यदि रुसले भारतको प्रस्तावमा भनेजस्तो मूल्यमा तेल दिन स्वीकार गरेमा भारतका सरकारी रिफाइनरहरूले प्रति महिना लगभग १ करोड ५० लाख ब्यारेल तेल लिन सक्ने दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया