शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

चार वर्षदेखि सफलता पूर्वक आयोजना हुँदै आएको “नेपाल चेम्बर एक्स्पो ” यस वर्षको पाँचौँ संस्करण वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा “नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिने चेम्बरले जनाएको छ । पाँच दिनसम्म चल्ने
मेलामा नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिइने जनाइएको छ ।

यस पटकको एक्स्पोमा १५० स्टल रहने छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पो नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू रहने छ । मेला आयोजना गर्नुको मुख्य उद्देश्य मध्ये विगतका राजनीतिक उपलब्धिहरूलाई आत्मसात् गर्दै नेपाल आर्थिक अभिवृद्धितर्फ उन्मुख हुँदै गएकोले राष्ट्रको आर्थिक संवृद्धिमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकाले एक्स्पो आयोजना हुँदै आएको चेम्बरले बताएको छ ।

चेम्बर मेलामा राष्ट्रिय– अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता रहनेछ । यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भएका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूबाट नेपालको उद्योग –व्यवसाय क्षेत्रमा प्रतिफल प्राप्त हुन सहयोगी भएको आयोजकले विश्वास लिएको छ ।

उपभोक्ता हित तथा जनचेतना अभिवृद्धि गर्दे गुणस्तरीय सामान प्रयोगमा प्रदर्शनीले प्राथमिकता पाउने छ । त्यस्तै वस्तु निकासीमा जोड दिन चेम्बरले यस प्रदर्शनी मार्फत निकासी योग्य वस्तुको प्रवद्र्घनमा सबै व्यापारिक समुदायलाई प्रोत्साहन तथा आवश्यक समन्वय समेत गरिने उद्देश्य राखिएको छ । मेलामा बङ्गलादेश कन्ट्री पार्टनर रहेको छ । यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरूले सहभागिता जनाउने भएका छन् । प्रदर्शन हुने विभिन्न वस्तुहरूमा अटोमोबाइल, इलेकट्रिकल एन्ड इलेकट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एन्ड एक्सेसरिज, गार्मेन्ट एन्ड टेक्सटाइल, मोबाइल एन्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एन्ड ह्याण्डलुमस, सुज एन्ड लेदर आइटम, कस्मेटिक्स, फुड एन्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरू राखिएको बताइएको छ ।

“नेपाल चेम्बर एक्स्पो २०२२” मा गोल्ड प्रायोजक हुलास हप्को सुपरबिल्ड रहेको छ । उता मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ र लर्निङ पार्टनरको रूपमा ब्रोडवे इफोसिसले सहभागिता जनाएको छ । मेलाको व्यवस्थापन जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ ।

तपाईको प्रतिक्रिया